हेटौँडा, भीम विराग सङ्गीत साहित्य प्रतिष्ठान नेपालको अध्यक्षमा पुनः केशवलाल श्रेष्ठ चयन भएका छन् । आज हेटौँडामा सम्पन्न प्रतिष्ठानको २१औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा श्यामकुमार बानियाँ, महासचिवमा माधव पोखरेल, सचिवमा आशा ढकाल तथा कोषाध्यक्षमा दिनेश सुवेदी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा अञ्जन दाहाल, गोपिनी गौतम, पदमलाल श्रेष्ठ, प्रह्लाद मिश्र, शर्मिला श्रेष्ठ, बालकृष्ण चौलागाईं र गहन खतिवडा चयन भएका छन् ।
प्रतिष्ठानको विधानअनुसार कार्यसमिति १५ सदस्यीय हुने भएकाले बाँकी तीन सदस्य पछि मनोनयन गरिने जनाइएको छ । यसै अवसरमा प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । लोक सङ्गीत पुरस्कार लोकदोहोरी गायक राजु परियारलाई, साहित्यिक पुरस्कार साहित्य सङ्गम मकवानपुरलाई, नारी पुरस्कार सङ्गीता थापा मगरलाई, सिर्जनशील नारी पुरस्कार रविना श्रेष्ठलाई, स्वास्थ्य सेवा पुरस्कार राजु गुरुङलाई, भिन्न क्षमता पुरस्कार अमिर बम्जनलाई, बाल पुरस्कार अक्सा खातुनलाई तथा स्मृति पुरस्कार अप्सरा उप्रेतीलाई नगदसहित सम्मान गरिएको हो । प्रतिष्ठानले साहित्य र सङ्गीतको क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै नेपाली साहित्य तथा सङ्गीतमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान र पुरस्कृत गर्दै आएको छ ।







