जनप्रिय विद्यालयद्वारा शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्मान

हेटौँडा, हेटौँडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, अभिभावक तथा शिक्षकलाई सम्मान गरेको छ।

ADVERTISEMENT

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटीको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा हेटौँडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख अतिथिमा सम्मान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका कोइरालाले आसपासका विद्यार्थी संख्या न्यून रहेका विद्यालयहरूलाई समेत समायोजन गर्दै जनप्रिय माविलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गर्न वडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले त्यसअनुरूप विद्यालयको शैक्षिक नतिजा पनि वर्षेनि सुधार हुँदै गएको उल्लेख गर्नुभयो। कार्यक्रममा शिक्षा विकास महाशाखा हेटौँडाका अधिकृत रमेश बिडारीले सामुदायिक विद्यालयका रूपमा जनप्रिय माविले उत्कृष्ट शैक्षिक नतिजामार्फत अन्य विद्यालयहरूलाई चुनौती दिइरहेको बताउनुभयो। उहाँले विद्यार्थीलाई समयमै तयारी गराएर अन्तिम समयमा ‘क्लोज क्याम्प’ राख्नुपर्ने अवस्था अन्त्य गर्न विद्यालयले दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिनुभयो।

विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईंका अनुसार एसईई २०८२ मा ३.२ वा सोभन्दा माथि जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो भने ग्रेडेड सम्पूर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र, फ्रेम तथा खादा प्रदान गरी सम्मान गरिएको थियो। साथै विषयगत रूपमा उत्कृष्ट नतिजा ल्याउने शिक्षक तथा विद्यार्थीहरूलाई समेत नगदसहित सम्मान गरिएको उहाँले जानकारी दिनुभयो। प्रधानाध्यापक चौलागाईंले विद्यालय शतप्रतिशत नतिजा हासिल गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा अघि बढिरहेको बताउँदै मिडिया कक्ष, गणितलगायत विषयगत प्रयोगशालामार्फत व्यावहारिक सिकाइलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो। विद्यालयमा ‘प्लेग्राउन्ड पार्क’ निर्माण अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो। औसत जीपीएका आधारमा सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम हुन सफल हुनु विद्यालय परिवारको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजाका लागि थप मेहनत गरिने प्रतिबद्धता जनाउनुभयो।

ADVERTISEMENT

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रमेशप्रसाद खतिवडा, अभिभावक तथा विद्यार्थीहरूले विद्यालयप्रति आफ्नो अनुभव व्यक्त गरेका थिए। कक्षा १० मा अध्ययनरत छात्रा समृद्धि गौतमका अभिभावकले विद्यालयले शैक्षिक ज्ञानसँगै विद्यार्थीहरूमा बोल्ने, लेख्ने र नेतृत्व गर्ने क्षमता विकास गराएको भन्दै कक्षा ११ मा पनि आफ्नी छोरीलाई यही विद्यालयमा अध्ययन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अभिभावक केशव सुवेदीले संस्थागत विद्यालयसरह सुविधा र गुणस्तरीय शिक्षा प्रदान गरिएकै कारण आफ्ना दुवै सन्तानलाई जनप्रिय माविमा अध्ययन गराएको बताउनुभयो।

कार्यक्रममा विद्यार्थीहरू एरोन चौलागाईं, कौस्तुभ सुवेदी, सारा गिरी, आकृष गौतम, रिदम बैदार र सानिया राईले शिक्षकहरूले अभिभावकसरह सिकाइको वातावरण निर्माण गरिदिएको भन्दै धन्यवाद व्यक्त गरे। त्यसैगरी कक्षा ११ मा विज्ञान संकाय अध्ययनरत छात्रा रोजिना धमलाले विद्यालयको शिक्षण–सिकाइप्रति आफू पूर्ण रूपमा सन्तुष्ट रहेको बताउँदै नयाँ विद्यार्थीलाई जनप्रिय मावि रोज्न आग्रह गर्नुभयो।

वडा सदस्य सङ्गीता विश्वकर्मा, सल्लाहकार गुन्जनबहादुर न्यौपाने, विद्यालय व्यवस्थापन समिति सदस्यहरू गोविन्द दुलाल, सूर्यकला तिमल्सिना, सरस्वती गौतम, इन्द्र खतिवडा, शैक्षिक संस्था अध्यक्ष गीताप्रसाद दुलाल, अभिभावक, विद्यार्थी, समन्वयकर्ता तथा शिक्षकहरूको उपस्थिति रहेको कार्यक्रममा जनप्रिय मिडिया विभाग संयोजक सुनिल गौतमले सहजीकरण गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *