हेटौँडा, मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा “स्थानीय उत्पादनको प्रवर्द्धन, समृद्धिको आधार” भन्ने मूल नारासहित ‘कृषि प्रदर्शनी मेला–२०८३’ आयोजना हुने भएको छ । यही जेठ १५ गतेदेखि १८ गतेसम्म हेटौँडा–४ स्थित रोयल प्यालेसमा मेला सञ्चालन गरिने आयोजकले जनाएको छ ।
मेला सम्बन्धी जानकारी दिँदै मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले स्थानीय कृषि उत्पादन, प्रविधि र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए । उनले कृषक, सहकारी संस्था, महिला उद्यमी तथा स्थानीय उत्पादकहरूलाई आफ्ना उत्पादन प्रदर्शन र बजारीकरण गर्ने अवसर मेलाले प्रदान गर्ने उल्लेख गरे ।
मेलामा कृषि उत्पादनहरूको प्रतिस्पर्धात्मक प्रदर्शनी, स्थानीय तथा घरेलु उत्पादन बिक्री, कृषि औजार तथा प्रविधिको प्रदर्शनी, महिला उद्यमीका हस्तकलाका सामग्री, बिउ तथा जैविक उत्पादनको प्रदर्शनी एवं बिक्री गरिनेछ । साथै विभिन्न सांस्कृतिक कार्यक्रम, सहकारीबीच हाजिरीजवाफ प्रतियोगिता, कृषिसम्बन्धी अन्तरक्रिया तथा नयाँ प्रविधिबारे जानकारीमूलक कार्यक्रमसमेत सञ्चालन हुने उनले जानकारी दिए । मेलाले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै कृषिमा आधुनिक प्रविधिको प्रयोग, उद्यमशीलता विकास र सहकारी अभियानलाई थप मजबुत बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।







