सप्ताहव्यापी कार्यक्रम आयोजना गरी हेटौंडामा विश्व वातावरण दिवस मनाइने

हेटौंडा, टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाले ५४औँ विश्व वातावरण दिवस २०८३ को अवसरमा सप्ताहव्यापी वातावरणीय कार्यक्रम सञ्चालन गर्ने भएको छ । “प्रकृतिको प्रेरणा, जलवायुको संरक्षण, भविष्यको सुनिश्चितता” भन्ने मूल नारासहित आगामी जेठ १६ गतेदेखि २२ गतेसम्म हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाहरूमा विविध जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरिने भएको हो ।

ADVERTISEMENT

यसै सन्दर्भमा समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सप्ताहव्यापी कार्यक्रमको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यक्रममा वातावरण संरक्षण, सरसफाइ, प्लास्टिक न्यूनीकरण, वृक्षारोपण तथा जनसहभागितालाई केन्द्रमा राखेर विभिन्न अभियान सञ्चालन गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले समुदायस्तरबाट गरिने साना प्रयासहरूले वातावरण संरक्षणमा ठूलो प्रभाव पार्ने बताउनुभयो । उहाँले विसं २०५६ सालदेखि हेटौंडामा टोल विकास संस्थाहरूले सरसफाइ, हरियाली संरक्षण, सामाजिक जागरण तथा विकास निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै यस वर्षको वातावरण अभियानलाई व्यवहारिक र परिणाममुखी बनाइने उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

उहाँले विश्वव्यापी रूपमा जलवायु परिवर्तन, बढ्दो तापक्रम, अव्यवस्थित फोहोर व्यवस्थापन तथा प्लास्टिकजन्य प्रदूषण गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै स्वच्छ वातावरणबिना स्वस्थ समाज, सुरक्षित भविष्य र दिगो विकास सम्भव नहुने बताउनुभयो । “प्रत्येक नागरिकले आफ्नो घर, टोल र समुदायको संरक्षणमा जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

यस वर्षको वातावरण सप्ताह अन्तर्गत “बोत्तल देउ, बिरुवा लिउँ” अभियानलाई विशेष प्राथमिकताका साथ सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत नगरबासीहरूले प्रयोग भइसकेका प्लास्टिकका बोत्तल संकलन गरी तोकिएको स्थानमा बुझाएबापत फलफूलका बिरुवा निःशुल्क प्राप्त गर्न सक्नेछन् । समितिका अनुसार अभियान अवधिभर १ हजार ८० वटा फलफूलका बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ । यस कार्यक्रमले प्लास्टिकजन्य फोहोर न्यूनीकरणसँगै नगरको हरियाली प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, वातावरण संरक्षण तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने संस्था तथा व्यक्तित्वलाई प्रोत्साहन गर्न “वातावरण सम्मान–२०८३” प्रदान गरिने भएको छ । समापन कार्यक्रममा उत्कृष्ट विद्यालय, मन्दिर, पार्क, सामुदायिक वन, वडा कार्यालय, टोल विकास संस्था, धार्मिक स्थल तथा सामाजिक अभियन्ताहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

सार्वजनिक कार्यतालिका अनुसार जेठ १६ र १७ गते नगरभरी विशेष सरसफाइ अभियान सञ्चालन हुनेछ । जेठ १७ गते हेटौंडा–४ स्थित क्लब हेटौंडामा ‘भान्छा नै औषधालय’ सचेतना कार्यक्रम आयोजना गरिनेछ भने जेठ १८ गते हेटौंडा–८ मा ‘फोहोर खोज चुनौती’ कार्यक्रम सञ्चालन हुनेछ ।

त्यसैगरी, जेठ १९ गते हेटौंडा–१ मा वृक्षारोपण कार्यक्रम तथा हेटौंडा–७ मा ‘प्लास्टिक मुक्त हेटौंडा–७’ सचेतना कार्यक्रम आयोजना गरिनेछ । जेठ २० गते हेटौंडा–१८ मा ‘बोत्तल देउ, बिरुवा लिउँ’ अभियान तथा हेटौंडा–१० मा ‘प्रकृति संवाद यात्रा–२०८३’ कार्यक्रम सञ्चालन हुनेछ ।

जेठ २१ गते हेटौंडा–२ मा जलवायु परिवर्तनसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा हेटौंडा–४ मा पुनः प्रयोगयोग्य सामग्रीबाट तयार गरिएका वस्तुहरूको प्रतिस्पर्धा आयोजना गरिनेछ । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन जेठ २२ गते वृहत् वातावरण सचेतना र्‍याली, समापन तथा पुरस्कार वितरण कार्यक्रम गरिने भएको छ ।

विश्व वातावरण दिवसको मुख्य दिन जेठ २२ गते बिहान ७ बजे हेटौंडा–४ स्थित हुप्राचौरबाट वृहत् वातावरण सचेतना र्‍याली निकालिने आयोजकले जनाएको छ । र्‍यालीमा विभिन्न समुदायका सांस्कृतिक झाँकी, बाजागाजा तथा वातावरण संरक्षणसम्बन्धी सन्देशमूलक प्रस्तुति समावेश गरिनेछ ।

र्‍यालीमा टोल विकास संस्था, वडा समन्वय समिति, विद्यालय, क्याम्पस, युवा क्लब, आमा समूह, उद्योगी–व्यवसायी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा सर्वसाधारणलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *