रन्जन र नितिन विदेश पलायन

हेटौंडा, फुटबल खेलाडी विदेशीने क्रममा अरु दुई खेलाडी पनि थपिएका छन् । राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका रन्जन विष्ट र नितिन थापा बुधबार अस्ट्रेलियाका लागि उडेका छन् ।

ADVERTISEMENT

पछिल्लो पटक रन्जनले एनआरटी र नितिनले मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टका दाई रन्जन नेपालले सन् २०१६ मा मलेसियाले एएफसी सोलिडारिटी कप जित्दा टोलीको सदस्य थिए ।

नितिनलाई पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टोलीमा डेब्यू गराएका थिए । नितिन तीन वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा नेपालले स्वर्ण पदक जित्दा टोलीमा थिए ।
अस्ट्रेलियामा रहेको बेनी फुटबल क्लबको निमन्त्रणमा आफहरु अस्ट्रेलिया जान लागेको रन्जनले जानकारी दिए ।

उनीहरुले बेनीबाट २४ औं जिएनसी प्रिमियर लिग, १२ औं कडेल कन्स्लटेन्सी कप २०२३ र तेस्रो गिरिस च्याम्पियनसिप खेल्नेछन् । गत नोभेम्बरबाट सुरु भएको जिएनसी प्रिमियर लिग २६ मार्च २०२३ मा सम्पन्न हुने बताइएको छ । त्यस्तै कडेल कन्स्लटेन्सी कप मार्च १२ र १३ तथा गिरिस च्याम्पियनसिप अप्रिल ८ र ९ मा हुनेछ ।

रन्जनका अनुसार बेनीबाट सुमन अर्याल, हेमन गुरुङ, अमृत चौधरी, सुसन लामालगायतका नेपाली खेलाडी रहेका छन् ।पछिल्लो तीन वर्षमा झण्डै ३० व्यवसायिक फुटबल खेलाडी अस्ट्रेलिया पुगिसकेका छन् ।

Advertisement 5

दुई दिन अघि तेज तामाङ, गौतम श्रेष्ठ, दीनेश राजवंशी अस्ट्रेलिया गएका थिए । तीनै खेलाडीले कात्तिक ३० गते दशरथ रंगशालामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेल खेलेका छन् । अन्जनको गोलमा नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो । (स्रोतः हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *