हेटौँडा, हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालय विद्यालय स्थापनाको स्वर्ण महोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
महोत्सवको दोस्रो दिन शनिबार विद्यालय परिसरमा रक्त दान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, पूर्व विद्यार्थी सशस्त्र प्रहरीका गरी २८ जना रक्तदाताले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्वर्ण महोत्सवको आइतबार बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आइतबार विद्यालयका पूर्व विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलगायतलाई सम्मान, स्वर्ण महोत्सव स्तम्भको अनावरण, स्मारिका विमोचन, शोभायात्रालगायतका कार्यक्रमहरु रहेको प्रचारसमिति संयोजक गणेश हुमागाईले जानकारी दिनुभयो । महोत्सवकै अवसरमा शुक्रबार विद्यालय परिसरमा सरसफाई गरिएको थियो । विद्यालयले स्वर्ण महोत्सव माघ ८ गतेसम्म विविध कार्यक्रम गरी मनाउँदै छ ।
स्वर्ण महोत्सव मनाउन हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको संयोजकत्वमा ५०१ सदस्यीय स्वर्ण महोत्सव मूल आयोजक तयारी समिति बनाइएको छ ।






