नेपाली भाषाशिक्षक समितिद्वारा १८६ विद्यार्थी र ४२ शिक्षक सम्मानित

हेटौंडा, नेपाली भाषाशिक्षक समिति मकवानपुरले एसइई २०८२ मा नेपाली विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा उनीहरूलाई अध्यापन गराउने शिक्षकहरूलाई सम्मान गरेको छ। आइतबार हेटौंडामा आयोजित कार्यक्रममा जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइई २०८२ मा सहभागी भई नेपाली विषयमा ४ ग्रेड प्राप्त गरेका १८६ जना विद्यार्थी तथा ४२ जना शिक्षक सम्मानित भएका हुन्।

ADVERTISEMENT

समितिका अध्यक्ष ज्योति न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष नवीन सिग्देल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै वक्ताहरूले मातृभाषा तथा नेपाली भाषाको संरक्षण, संवर्द्धन र गुणस्तरीय शिक्षणका लागि शिक्षक र विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। उनीहरूले नेपाली विषयप्रतिको आकर्षण र उपलब्धिलाई अझ प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे।

कार्यक्रममा नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाईं, अखिल नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष मुकुन्द न्यौपाने, बसन्त राई, विज्ञान विषय शिक्षक समितिका अध्यक्ष भारत पोखरेल, सामाजिक विषय शिक्षक चिरञ्जीवी घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा समितिका सल्लाहकारहरू माधव खतिवडा, सागर खतिवडा, विष्णु गौतम, ह्याग्रिब आचार्यलगायत शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

नेपाली भाषाशिक्षक समिति मकवानपुरले नेपाली विषयमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *