हेटौँडा, मकवानपुर प्रहरीले लागुऔषध ट्रामाडोलका ९ हजार क्याप्सुलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति हेटौँडा उपमहानगरपालिका–१३ आल्दमार बस्ने ३० वर्षीय प्रविन लामा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले आइतबार साँझ करिब ८ बजे शंकास्पद रूपमा हिँडिरहेका लामालाई रोकेर जाँच गर्दा उनको साथबाट ३ हजार ट्रामाडोल क्याप्सुल फेला परेको थियो। प्रारम्भिक बयानमा लामाले उक्त लागुऔषध हेटौँडा–१२ बस्ने एक व्यक्तिसँग खरिद गरेको बताएका छन्।
लामाको बयानका आधारमा प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गर्न खोज्दा उनी प्रहरी देख्नेबित्तिकै साथमा रहेको झोला फालेर फरार भएका थिए। फालिएको झोलाबाट प्रहरीले थप ६ हजार ट्रामाडोल क्याप्सुल बरामद गरेको छ।
पक्राउ परेका लामाविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।







