हेटौँडा, हेटौँडामा जारी बागमती प्रदेश टी–२० क्रिकेट प्रतियोगितामा मकवानपुरले आफ्नो दोस्रो खेलमा नुवाकोटलाई ३६ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। गौरिटार रंगशालामा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो।
मकवानपुरको जितमा सुमन सुनारले उत्कृष्ट प्रदर्शन गर्दै ३५ बलमा अर्धशतक पूरा गरे। उनको आकर्षक इनिङ्सकै आधारमा उनी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। मकवानपुरका लागि गौरव खड्का ४६ रनमा अविजित रहे भने कप्तान शुभ कंसाकार भने १ रनमै आउट भए। नुवाकोटका बलर विधान खतिवडाले प्रभावशाली बलिङ गर्दै ३ विकेट हात पारे।
१५१ रनको लक्ष्य पछ्याएको नुवाकोटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन मात्र बनाउन सक्यो। मकवानपुरका बलरहरूले कसिलो प्रदर्शन गर्दै नुवाकोटलाई लक्ष्य नजिक पुग्नै दिएनन्।
मकवानपुरका लागि साकार गजुरेलले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। यस्तै रोहित ठाकुर र स्वरुप श्रेष्ठले समान १–१ विकेट हात पार्दै टोलीको जितमा योगदान दिए। प्रतियोगिताको उद्घाटन खेलमा चितवनसँग पराजित भएको मकवानपुरले दोस्रो खेलमा पुनरागमन गर्न सफल भएको हो ।







