हेटौँडा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरले वि.सं. २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने २९४ जना विद्यार्थीलाई सम्मान गरेको छ।

प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य रहेको थियो । एसईई परीक्षामा ४ जीपीए प्राप्त गर्ने मकवानपुरका १३ जना विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँ नगद, प्रमाणपत्र तथा खादा प्रदान गरी सम्मान गरिएको थियो। त्यस्तै ३.६० भन्दा माथि जीपीए हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, मायाको चिनो र खादा प्रदान गरिएको थियो।
कार्यक्रममा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याउन सफल बालजागृति इङ्लिस सेकेन्डरी विद्यालय, ज्ञानदीप शिक्षा निकेतन, नवोदय शिशु सदन, ब्रह्मदिक एकेडेमी र फ्याम्कोल एकेडेमीलाई सम्मान गरिएको थियो। त्यसैगरी शतप्रतिशत नतिजा ल्याउन सफल तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय, ज्ञानोदय बालवाटिका आवासीय माध्यमिक विद्यालय, पालुङ इङ्लिस सेकेन्डरी विद्यालय, पालुङ मोडर्न इङ्लिस मिडियम विद्यालय तथा पालुङ भ्याली हार्ट एकेडेमीलाई पनि सम्मान गरिएको थियो।

औसत जीपीए ३.४२ सहित उत्कृष्ट नतिजा ल्याउने सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय, औसत जीपीए ३.३१ सहित सोलिड्यारिटी इन्टरनेसनल एकेडेमी तथा औसत जीपीए ३.१२ सहित जेनिथ इन्टरनेसनल सेकेन्डरी विद्यालयलाई समेत सम्मान प्रदान गरिएको थियो। सामुदायिक विद्यालयतर्फ ४ जीपीए हासिल गराउन सफल बालज्योति माध्यमिक विद्यालयलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडा शाखाका प्रमुख बद्री पाठक, शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरी, प्याव्सन मकवानपुरका सल्लाहकार मदनकुमार दाहाल, ऋषिराम आचार्यलगायतको आतिथ्य रहेको थियो।







