सरकार ‘पपुलिस्ट’ बन्न खोज्यो, अबको प्रधानमन्त्री देउवा : कांग्रेस सहमहामन्त्री उपाध्याय

हेटौंडा, नेपाली कांग्रेसकी सहमहामन्त्री तथा मकवानपुरे नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार ‘पपुलिस्ट’ बन्न खोजेको बताएकी छिन्।

ADVERTISEMENT

प्रचण्ड नेतृत्वको सरकार आमरुपमा पपुलिस्ट बन्न खोजेको उपाध्यायको आरोप रह्यो। ‘अलिकति पपुलिस्ट बन्न खोजेको हामीले पनि महसुस गरेका छौं,’ उनले भनिन्, ‘सत्यतथ्यको छानबिनभन्दा पनि आफूलाई पपुलिस्ट बनाउन खोजेको हो कि भन्ने आमरुपमै पर्न गएको छ।’

ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता विषयमै सरकार भुल्न थालेको तर विकासको काममा भने ध्यानै नदिएकोतिर संकेत गर्दै उपाध्यायले भनिन्, ‘सरकारले त सबै नागरिकको बराबरी दायित्व बोक्नुपर्छ नि,’ उपाध्यायले भनिन्।

यद्यपि सरकार बनेको छोटो समयमै समीक्षा गर्न ठीक नहुने नहुने उनले बताईन्। ‘यो गठबन्धनको सरकार हो। धेरै पार्टी मिलेर बनेको। यसका कमीकमजोरीहरु पनि छन्। सरकारले गरेका कामहरु राम्रा पनि छन्,’ उनले भनिन्।

कांग्रेसबाट सहभागी मन्त्रीहरुको ‘पर्फमेन्स्’ राम्रो

Advertisement 5

सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुबाट राम्रो काम भइरहेको उनको जिकिर छ।

‘आर्थिक मन्दी भइरहेको बेला नेपालमा पनि समस्या देखा पर्दापर्दै पनि अहिलेसम्म टिक्न सक्नु भनेको पनि सफलता हो,’ सहमहामन्त्री उपाध्यायले भनिन्, ‘विकास निर्माणका कुरामा आवाज उठिरहेको छ। यसलाई द्रुत गतिमा लैजानुपर्ने छ। सरकार बनेको पनि धेरै भएको छैन। स्वास्थ्य मन्त्रीज्युले राम्रो पहल गर्नुभएको छ। यो निरन्तर राम्रो होस्। शिक्षा क्षेत्रमा राम्रो होस्।’

केन्द्रीय समिति भडास पोख्ने थलो

कांग्रेसमा जनजीविका सवालमा एजेन्डा भएपनि वर्ष दिनपछि बैठक हुँदा कतिपय केन्द्रीय सदस्यहरुले मनको भडास पोख्ने थलो बनाएको उनको भनाई रह्यो।

‘केन्द्रीय समितिमा सामाजिक सञ्जालमा आएका विषयवस्तुहरुलाई आफ्ना विचारका रुपमा राख्ने मनसाय धेरै साथीहरुको देखियो। त्यो कारणले पनि मुल एजेन्डाभन्दा आफ्नो कुरामात्र राख्ने लाइनतिर गयो। बाहिर सामाजिक सञ्जालमा उचालिएको कुरा त्यसलाई मिनिमाइज गर्न आवश्यक थियो। साथीहरुले त्यसलाई पोख्नुभयो। राम्रै पनि भयो,’ उपाध्यायले भनिन्।

केन्द्रीय समितिमा पार्टीको रणनीति र जनजीविकाका सवालमा पनि छलफल भएको उनले दाबी गरिन्, ‘केन्द्रीय समितिमा विशेष गरी रणनीतिक कुरा आएका छन्। हाम्रा प्रतिबद्धताका कुराहरु, जनतासँग जोडिएका नीतिगत कुराहरु परेका छन्।’

केन्द्रीय समिति लाइभ भएकोले आफूलाई पनि राम्रो लागेको उनले बताइन्। ‘यसपटकको केन्द्रीय समितिबाट म सन्तुष्ट छु। सबभन्दा सन्तुष्ट बैठक लाइभ भयो। सारा जनताले हेर्न पाउनुभयो,’ उनले भनिन्, ‘केन्द्रीय समिति नभएको पनि धेरै भएको थियो। बाहिर पार्टीलाई हतोत्साही पार्ने कुरा हरु भएका थिए। पार्टीभित्रको बेमेलको कुरा छरपस्ट आएको थियो।’

महामन्त्रीको कार्यतालिका कस्तो ?

महामन्त्री गगन थापाले प्रस्तुत गरेको सांगठनिक कार्यतालिका राम्रो रहेको उनले बताईन्। तर कार्ययोजना पार्टीभित्रै छलफल भएर तयार भएको उनको दाबी छ।

‘कार्ययोजना उहाँकोमात्र हैन। पहिले पदाधिकारी पूर्वपदाधिकारी बसेर यो यो लाइनमा काम गरौ भनेपछि उहाँले लिपिबद्ध गर्नुभएको हो,’ उनले भनिन्, ‘महामन्त्री पार्टीको संस्था हो।’

कोषाध्यक्ष महिला हुनुपर्छ

कांग्रेसले अहिलेसम्म कोषाध्यक्ष चयन गर्न सकेको छैन। केन्द्रीय समितिमा पनि यो विषय उठेन। कहिले चयन होला तरु बिजमाण्डूको प्रश्नमा उनले भनिन्, ‘यो सभापतिको अधिकार हो। चाँडै हुन्छ होला।’

आफूहरु कोषाध्यक्षमा महिला ल्याउनुपर्ने लबिङमा लागेको उनले सुनाइन्। ‘हामी त महिलालाई बनाउनुपर्छ भने लागेका छौ कोषाध्यक्ष,’ उनको भनाई थियो।

अर्थमन्त्रीको आलोचना किन ?

अर्थमन्त्री नेपाली कांग्रेसकै प्रवक्ता डा प्रकाशशरण महत छन्। महतको कार्यशैलीलाई लिएर पार्टीभित्रैबाट र बाहिर पनि आलोचना छ।

पछिल्लो परिस्थितबारे उपाध्याय भन्छिन्, ‘अर्थमन्त्रीलाई अप्ठेरो पारेको देखिन्छ गठबन्धनमा। किन होला मैले पनि बुझेको छैन। कांग्रेसकै सांसदले धेरै बोलिरहनुभएको छ। अर्थमन्त्रीलाई लगाएको आरोप गलत हो। किन र कुन उद्देश्यले उहाँलाई आरोप लगायो भन्ने थाह भएन। यसको डिटेल छानबिन हुनुपर्छ।’

बजेट आएपछि महतमाथि धेरैले असन्तुष्टि पोखेको उनले बताईन्। ‘बजेटपछि उहाँमाथि असन्तुष्ट सुनिएको हो। पार्टीकै धेरै साथीहरुले बजेट नराखिदिएको कुरा उठाउनुभएको हो,’ उनले भनिन्।

तर संकटको बेला पनि अर्थमन्त्री महतले समन्वय गरेर अर्थतन्त्रलाई मजबुत बनाउन लगिरहेको उनको तर्क छ। ‘आर्थिक संकटको अवस्थामा विगतको भन्दा धेरै बजेट कटौती भएको छ। बजेटहरु धेरै ठाउँमा पुगेको छैन। मेरो पनि असन्तुष्टि छ। मैले भनेको पनि उहाँले राख्नुभएन,’ उनले भनिन्, ‘अहिले राष्ट्रको संकटमा उहाँले कस्तो डिल गर्नुभएको छ त्यो महत्वपूर्ण कुरा हो। यो हुन नदिनलाई उहाँले कसरी काम गर्नुभएको छ। त्यो बारेमा हामीले सोच्नुपर्छ। मेरो व्यक्तिगत क्षेत्रमा बजेट परेन भनेर सोच्नुहुन्न। यस्तो अवस्थामा पनि बचाउनलाई अर्थमन्त्रीले के भूमिका निभाउनुभयो त्यो विषयमा हामीले सोच्नुपर्छ।’

अब प्रधानमन्त्री बन्ने पालो देउवाको

गठबन्धन भत्किने बारेमा विभिन्न चर्चापरिचर्चा समेत चलेको छ। यसबारे सहमहामन्त्री उपाध्याय भन्छिन् – शेरबहादुर देउवाको पालो नै आएको छैन कसरी भत्किन्छ ? देउवा प्रधानमन्त्री हुने लाइनमा हुनुहुन्छ। (स्रोतः बिजमाण्डू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *