पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा सुरेन्द्रमान प्रधान

हेटौँडा, थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनुभएको छ। २३औँ क्याम्पस परिषदबाट अध्यक्ष पदका लागि मधुसूदन रायमाझीले उम्मेदवारी फिर्ता लिएपछि प्रधान निर्विरोध निर्वाचित हुनुभएको हो। यसअघि उपाध्यक्ष र सञ्चालक समितिको सदस्यको अनुभव प्राप्त गरिसक्नुभएका प्रधान अब क्याम्पस सञ्चालक समितिको नेतृत्वमा आउनुभएको छ।
प्रत्यक्ष निर्वाचित हुने विधिअन्तर्गत समितिका सदस्यहरूमा राजिवकुमार स्याङ्दान, हिरेन्द्रकुमार रायमाझी, मनोज अधिकारी, सुदर्शन कार्की, सगुनकुमार ढकाल, रिता प्रधान, केदार कार्की, सहदेव ढकाल, बलराम थापा र राजकुमार केसी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत निरञ्जन अधिकारीले जानकारी दिनुभयो।

ADVERTISEMENT

निर्वाचित अध्यक्ष प्रधानले स्वीकारोक्ति मन्तव्य दिँदै स्नातक तहका लागि उत्तरी मकवानपुरको एक मात्र क्याम्पस भएकाले यसलाई सबैले साझा संस्थाका रूपमा लिनुपर्ने बताउनुभयो। क्याम्पसमा एक करोडभन्दा बढी भुक्तानी दायित्व रहेकाले यसलाई आत्मनिर्भर बनाउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले पाँच वर्षे रणनीतिक योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य कुमारी मुक्तानले सीपमूलक शिक्षामा जोड दिँदै विद्यार्थी संख्या वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। जिल्ला समन्वय समिति प्रमुख ललित घलानले स्थानीय सरकारहरूले क्याम्पसलाई विशेष महत्व दिएको उल्लेख गर्दै जिसस समन्वयका लागि सधैं तयार रहेको बताउनुभयो।

कार्यक्रमका सभाध्यक्ष विष्णुबहादुर विष्टले क्याम्पसको विकासमा सबैको निरन्तर सहयोग आवश्यक रहेको बताउँदै स्नातक अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा प्रदेश सदस्य अरुण रायमाझी, तत्कालीन दामन–पालुङ आर्थिक विकास सहयोग समिति अध्यक्ष श्यामभक्त श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि राजमान महर्जन, बेलायतका पूर्व एनआरएन अध्यक्ष चिरञ्जीवी ढकाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णबहादुर विष्ट, ३ नम्बर वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझी, क्याम्पसका पूर्व लेखापाल मधुसूदन रायमाझीलगायतले क्याम्पसले उत्तरी मकवानपुरको शैक्षिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष विष्णुबहादुर विष्टले नीति तथा कार्यक्रम, कोषाध्यक्ष विमलकुमार ढकालले आर्थिक प्रतिवेदन र क्याम्पस प्रमुख राजन मिश्रले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले पारित गरेको छ। सभाले क्याम्पसको विधान संशोधन गर्दै प्रत्येक चार वर्षमा क्याम्पस सभा बस्ने, सभाले परिषद गठन गर्ने र परिषदले सञ्चालक समिति गठन गर्ने व्यवस्था गरेको छ। यसअघि क्याम्पस सभाको परिकल्पना थिएन। नयाँ व्यवस्थाअनुसार परिषदको संख्या २ सय २२ बाट घटाएर ९१ कायम गरिएको छ भने सञ्चालक समितिमा दुई जना मनोनीत सदस्य थप गरी २१ सदस्यीय बनाइने भएको छ। उपाध्यक्ष र कोषाध्यक्ष भने सञ्चालक समितिको बैठकले निर्वाचित गर्ने व्यवस्था गरिएको छ।

परिषदको अवसरमा क्याम्पसमा योगदान पुर्‍याउने व्यक्ति तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। विधान संशोधन प्रस्तावमा तत्कालीन क्याम्पस अध्यक्ष सानोभाइ कार्की, परिषद सदस्य अरुण रायमाझीलगायतले सुझाव दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *