हेटौँडा, थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा थाहा दिवस २०८२ मनाइएको छ। रुदानेको जन्मस्थल थाहा नगरपालिका–३ अन्तर्गत शिखरकोटस्थित विकास घरमा आयोजित कार्यक्रममा उहाँको योगदान दर्शन तथा थाहा आन्दोलनको ऐतिहासिक महत्वलाई स्मरण गरिएको थियो।

थाहा नगरपालिका वडा नं। ३ र ४ को सहयोग तथा फरक सोच अभियानको आयोजनामा सम्पन्न कार्यक्रम वडा नं। ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा स्वर्गीय रुपचन्द्र बिष्टको पूर्णकद शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले रुदानेलाई जनचेतना जगाउने, जनमुखी तथा विकासप्रेमी महान व्यक्तित्वका रूपमा स्मरण गर्दै उहाँका विचार आजको समाजका लागि अझै सान्दर्भिक रहेको बताउनुभयो। उहाँले रुदानेको संघर्ष र दर्शनले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म सकारात्मक सोच विकास गर्न प्रेरणा दिएको उल्लेख गर्नुभयो।
नगर उपप्रमुख गोपालीले रुदाने कुनै एक दल वा विचारधाराको सीमाभित्र सीमित व्यक्तित्व नभएको उल्लेख गर्दै उहाँको दर्शनलाई सबै राजनीतिक दलले आत्मसात गर्नु आजको आवश्यकता भएको धारणा राख्नुभयो। साथै, रुदानेको जन्मस्थल घर्तीखोलामा उहाँको स्मृतिमा संग्रहालय स्थापना गर्न नगरपालिकाले पहल थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको विशेष अवसरमा थाहा पत्रकारिता पुरस्कार २०८२ बाट लामो समयदेखि पत्रकारितामा निरन्तर सक्रिय रहँदै आउनुभएका पत्रकार सुरेश बिडारीलाई सम्मान गरिएको थियो। त्यसैगरी, तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान शिक्षण पेशामा दीर्घ योगदान पुर्याई हालै मात्र सेवा निवृत्त हुनुभएका जनकल्याण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक सानोभाई कार्कीलाई प्रदान गरिएको थियो।
फरक सोच अभियानका अध्यक्ष यादवजंग रायमाझीले कार्यक्रमको औचित्य र उद्देश्यबारे प्रकाश पार्नुभएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जनमुखी सहकर्मीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले रुपचन्द्र बिष्टको जीवन, विचार तथा थाहा आन्दोलनले समाजमा पारेको प्रभावबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
यसै अवसरमा थाहा नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वडा नं। ३ र ४ का ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार वडा ज्येष्ठ नागरिक समन्वय समितिको सिफारिसमा वडा नं. ३ का १५ जना र वडा नं. ४ का १५ जना ज्येष्ठ नागरिकलाई न्यानो ब्ल्याङ्केट, गल्बन्दी, थरमस तथा बेतको लौरो प्रदान गरिएको हो।
थाहा दिवस २०८२ का कार्यक्रमहरूले रुदानेको विचार, थाहा आन्दोलनको मर्म र सामाजिक उत्तरदायित्वलाई पुनः उजागर गर्दै स्थानीय समुदायमा चेतना र एकताको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।






