नगरस्तरीय बास्केटबल प्रतियोगिताको उपाधिका लागि नवोदय र कमाने भिड्ने

हेटौँडा, हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा भएको नगरस्तरीय बास्केटबल प्रतियोगिताको उपाधिका लागि नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय र कमाने एकेडेमीबीच प्रतिस्पर्धा हुने भएको छ।

ADVERTISEMENT

आजबाट सुरु भएको प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र रहेका नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, माउन्ट एभरेष्ट इङ्लिस सेकेन्डरी विद्यालय र कमाने एकेडेमीले सहभागिता जनाएका थिए। नवोदय शिशु सदनले तीनवटा विद्यालयलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने कमाने एकेडेमी नवोदयसँग पराजित भए पनि अंकका आधारमा फाइनलमा प्रवेश गर्न सफल भएको जनाइएको छ।

प्रतियोगिताको फाइनल खेल माघ ८ गते आयोजना हुनेछ। शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को समन्वय तथा नवोदय विद्यालयको व्यवस्थापनमा प्रतियोगिता भएको हो । कार्यक्रमका प्रमुख अतिथि हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले हेटौँडाका १९ वडामध्ये वडा नम्बर ४ ले शैक्षिक गतिविधिसँगै विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फोटनका लागि निरन्तर विविध कार्यक्रम आयोजना गर्दै आएको भन्दै वडाध्यक्ष नवीन सिग्देलको प्रशंसा गरे।

उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देल, वडासचिव आरपी गुरागाईँ, वडा सदस्य गीता त्रिपाठी, शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ का संयोजक तथा श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाल, भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेलगायतको आतिथ्य रहेको थियो। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको तेस्रो खेलकुद महोत्सव अन्तर्गत नगरस्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो। गत वर्ष पनि उपाधिका लागि कमाने एकेडेमी र नवोदय शिशु सदनबीच भएको प्रतिस्पर्धामा नवोदय शिशु सदन विजयी भएको थियो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *