मनहरी गाउँपालिकाको बजेट ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँ

मनहरी–मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको १९ औँ अधिवेशनको दोस्रो बैठकमा बुधबार उपाध्यक्ष सीता पुलामीमगरले चालु आर्थिक वर्षको तुलनामा १० करोड ८५ लाख रुपैयाँ बढीको आम्दानी खर्चको अनुमान प्रस्तुत गरेकी हुन् ।

ADVERTISEMENT

गाउँपालिकाले चालु आर्थिक वर्षमा ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी वर्षको बजेटको सबैभन्दा ठूलो हिस्सा पूर्वाधार विकास क्षेत्रमा रहेको छ । गाउँपालिकाले पूर्वाधार विकासका लागि ३४ करोड ९१ लाख ६६ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५.४२ प्रतिशत छुट्याएको छ । सामाजिक विकासतर्फ २८ करोड १८ लाख ८ हजार रुपैयाँ (२८.५९ प्रतिशत), कार्यालय सञ्चालन तथा प्रशासनिक दायित्वका लागि १४ करोड ६६ लाख ७० हजार रुपैयाँ (१४.८८ प्रतिशत) र वित्तीय व्यवस्था, सुशासन तथा संस्थागत विकासका लागि १३ करोड ८५ लाख २ हजार रुपैयाँ (१४.०५ प्रतिशत) विनियोजन गरिएको छ ।

त्यसैगरी आर्थिक विकासतर्फ ५ करोड ३१ लाख १७ हजार रुपैयाँ र वन, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा १ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ । बजेटमध्ये ३६.७८ प्रतिशत अर्थात् ३६ करोड २५ लाख रुपैयाँ पुँजीगत तथा ६३.२२ प्रतिशत अर्थात् ६२ करोड ३१ लाख रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ । आम्दानीतर्फ गाउँपालिकाले सबैभन्दा बढी राजस्व दहत्तर–बहत्तर (नदीजन्य पदार्थ) को बिक्रीबाट उठाउने लक्ष्य राखेको छ । आगामी वर्ष दहत्तर–बहत्तर बिक्रीबाट मात्रै २६ करोड ७४ लाख ८२ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
संघीय सरकारबाट समानीकरण, राजस्व बाँडफाँड, सशर्त, समपूरक र विशेष अनुदानमार्फत ३६ करोड ८१ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट समानीकरण, सवारी कर बाँडफाँड, सशर्त, समपूरक र विशेष अनुदान गरी ६ करोड २६ लाख ४१ हजार रुपैयाँ आउने अपेक्षा गरिएको छ । आन्तरिक स्रोत र बैंक मौज्दातबाट ४ करोड १५ लाख ७० हजार रुपैयाँ व्यवस्थापन गर्ने लक्ष्य राखिएको उपाध्यक्ष पुलामीले ।

क्षेत्रगत कार्यक्रमतर्फ शिक्षा क्षेत्रमा सबैभन्दा ठूलो बजेटमध्ये २१ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ । बालविकास शिक्षक, विद्यालय कर्मचारी व्यवस्थापन, विद्यालय बस खरिद तथा युवा–खेलकुद कार्यक्रम यसअन्तर्गत समेटिएका छन् ।स्वास्थ्य क्षेत्रमा ४ करोड ८२ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ । क्यान्सर, मिर्गौला प्रत्यारोपण, डायलाइसिस तथा मेरुदण्ड पक्षघात भएका विपन्न बिरामीलाई मासिक उपचार सहयोग, स्वास्थ्य बीमा कार्यक्रम र शव वाहन खरिदजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

कृषि क्षेत्रमा १ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि औजार वितरण, उत्पादनमा आधारित अनुदान, शीतभण्डार भाडा अनुदान, बाली बीमा तथा भूमिहीन किसानका लागि जग्गा भाडा अनुदान कार्यक्रम सञ्चालन गरिने भएको छ । पशुपन्छी विकासतर्फ २ करोड ३५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । दूधमा प्रतिलिटर प्रोत्साहन अनुदान, महामारीजन्य रोग नियन्त्रण, काउम्याट वितरण तथा पशुपालन प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

पूर्वाधार क्षेत्रमा मनहरी–८ र ९ जोड्ने सडक, लोथर–पाङ्थली सडक स्तरोन्नति, वडा कार्यालय भवन निर्माण तथा गाउँपालिकाको प्रशासकीय भवन सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ । समग्र पूर्वाधार क्षेत्रमा संघीय, प्रदेश र स्थानीय स्रोतसमेत गरी ३४ करोडभन्दा बढी बजेट खर्च हुने अनुमान गरिएको उपाध्यक्ष पुलामीले बताइन् । रोजगार प्रवद्र्धनका लागि ४७ लाख १७ हजार रुपैयाँ, महिला विकासका लागि १७ लाख ५० हजार रुपैयाँ, बालबालिका क्षेत्रमा २७ लाख ५६ हजार रुपैयाँ तथा सामाजिक समावेशीकरणका कार्यक्रमका लागि १ करोड १६ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ दमकल खरिद, विपद् कोष सञ्चालन, डढेलो नियन्त्रण, वृक्षारोपण, फोहोर व्यवस्थापन तथा जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। यसका लागि १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ । उपाध्यक्ष पुलामीमगरले प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राख्दै समृद्ध मनहरी निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरिन् । गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा गाउँसभा भएको थियो । बजेटमाथि छलफल गरी पारित गर्न गाउँसभाको अर्को बैठक असार १३ गते आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *