वाग्मतीमा ८ मन्त्रालय, ६ मन्त्री विनाविभागीय

हेटौँडा, वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झार्ने निर्णय आजदेखि कार्यान्वयन गरेको छ । 

ADVERTISEMENT

मन्त्रालय पुनर्संरचनासँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरुको नयाँ कार्यविभाजन सिफारिस गरेपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेका छन् ।

नयाँ संरचनाअनुसार प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय कायम भएका छन् । सरकारमा रहेका १४ मन्त्रीमध्ये ८ जनाले मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् भने बाँकी ६ जना मन्त्रीलाई हालका लागि विनाविभागीय राख्दै अतिरिक्त जिम्मेवारी तोकिने बताइएको छ। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सत्ता साझेदारीका विषयमा देखिएको राजनीतिक जटिलता समाधान भएपछि मन्त्रीहरुको जिम्मेवारी पुनः हेरफेर गरिनेछ । नयाँ आर्थिक वर्षदेखि संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार कर्मचारी समायोजन गर्नुपर्ने भएकाले हाललाई अन्तरिम व्यवस्थाका रूपमा ६ मन्त्रीलाई अतिरिक्त जिम्मेवारी दिइएको हो ।

गत वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन भएसँगै अब वाग्मती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय सञ्चालनमा रहनेछन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय संख्या घटाउने निर्णय सुशासन, मितव्ययिता र प्रभावकारी सेवा प्रवाहका लागि गरिएको बताए । उनका अनुसार मन्त्रालयको संख्या घटेसँगै प्रशासनिक खर्च घट्ने, निर्णय प्रक्रिया छरितो हुने र नागरिकले सहज रूपमा सेवा पाउने वातावरण बन्नेछ ।“प्रदेश सभामा संविधानअनुसार २२ जनासम्म मन्त्री बनाउन सकिने व्यवस्था भए पनि हामीले सुशासन र मितव्ययितालाई प्राथमिकता दिँदै मन्त्रालय संख्या ८ मा सीमित गरेका हौँ,” मुख्यमन्त्री बानियाँले भने । 

उनले कर्मचारी प्रशासन तथा ओएण्डएम सर्वेक्षणका बाँकी काम केही दिनभित्र सम्पन्न हुने र त्यसपछि सचिव तथा कर्मचारी व्यवस्थापन पनि अन्तिम रूप दिइने जानकारी दिए । 

यस्तो छ वाग्मती सरकारको नयाँ मन्त्रिपरिषद्

वाग्मती प्रदेश सरकारको नयाँ मन्त्रिपरिषद्को कार्यविभाजन टुंगिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैँसँग राखेका छन् ।

कार्यविभाजनअनुसार मधुसूदन पौडेललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शिवराज अधिकारीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नेतृत्व गर्नेछन् । 

त्यसैगरी कञ्चनचन्द्र वादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै, कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्, भने बिन्दु श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको मन्त्री बनेकी छन् ।

मन्त्रालयहरूको संख्या घटाइएपछि हालका लागि किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई विनाविभागीय मन्त्रीका रूपमा राखिएको छ । उनीहरूले मुख्यमन्त्रीको मातहतमा रही तोकिएका अतिरिक्त जिम्मेवारी सम्हाल्नेछन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya