एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार

हेटौँडा, बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार दल एमालेले आफ्ना मन्त्रीलाई सामूहिक राजीनामा गराएर समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको हो।

ADVERTISEMENT

बुधबार सरकारमा सहभागी एमालेका ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएका थिए । सोसँगै मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमालेका मन्त्रीहरूले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा पत्र दर्ता गराएका थिए ।


मुख्यमन्त्री बानियाँले एमालेका मन्त्रीहरूलाई भेट नदिएपछि उनीहरुले मुख्यमन्त्री सचिवालयमा राजीनामा पत्र दर्ता गराएका छन् भने प्रमुख सचिव बाबुराम अधिकारी समक्ष राजीनामा पत्र पेस गरेका छन् । एमालेबाट उद्योग पर्यटन श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा, कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, विना विभागीय मन्त्री किरण थापा, विना विभागीय मन्त्री भरतबहादुर केसी, विना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन् ।

एमालेका मन्त्रीको राजीनामा र सरकारको समर्थन फिर्ता लिएसँगै बागमतीको राजनीतिले नयाँ मोड लिएको छ । बागमतीको सत्ता राजनीतिले नयाँ मोड लिनुको साथै मुख्यमन्त्री बानियाँलाई सरकार टिकाउनु पर्ने चुनौती तर्फ धकेलेको छ। प्रदेश तहमा बाम गठबन्धन (एमाले र नेकपा) बिच नयाँ सत्ता समीकरण अगाडि बढाउने चर्चाका बिच मुख्यमन्त्री बानियाँले आगामी ३० दिन भित्र संसद्‌बाट विश्वासको मत लिएर अघि बढ्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री बानियाँले सरकारको निरन्तरताका लागि नयाँ गठबन्धन सहित ५३ सांसदको समर्थन जुटाउनु पर्ने बाध्यता देखिएको छ।

मुख्यमन्त्री बानियाँले एमाले कांग्रेस गठबन्धनबाट गत साउन २० बाट सरकारको नेतृत्व गर्दै आएका छन् भने एमाले काग्रेस गठबन्धनबाट कांग्रेसले २ पटक सरकारको नेतृत्व पाइसकेको छ । गत २०८१ साउन ९ बाट एमालेको समर्थनमा कांग्रेकिा बहादुर सिंह लामा मुख्यमन्त्री बनेका थिए भने २०८२ साउन २० सम्म उनले शासन सत्ताको नेतृत्व गरे । बजेट माथिको तिव्र विरोधलाई अवसरमार परिणत गर्दै बानियाँले तत्कालिन मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाएका थिए ।

यता नयाँ गठबन्धनका लागि चर्चा गरिएको एमाले र नेकपालाई पनि सरकार गठन निकै चुनौतीपूर्ण हुने निश्चित छ । बाम गठबन्धनलाई सरकार बनाउन ५३ सांसदको समर्थन आवश्यक रहेको र सोही अनुसार दलहरूलाई मिलाउन पर्ने हुन्छ। हाल ११० सदस्यीय बागमती प्रदेश सभामा ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन् । सरकार गठन वा सरकारको निरन्तरको लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टी (हानेपा) का २ सांसद छन्। स्रोतः रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya