युवादेखि ज्येष्ठ नागरिकसम्मको मप्रति विश्वास पाएँ :बानियाँ

गृह राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र बागमती प्रदेश संसदीय दलका नेताको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँ अहिले मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवार छन् । विकास र सहयोगमा सधैं अगाडि रहने छवि बनाएका बानियाँको यो दोस्रो पटक त्यस क्षेत्रमा उम्मेदवारी हो । चुनावी अभियान र मतदाताको अपेक्षाबारे बानियाँसंग गरिएको कुराकानीः

चुनावी घरदैलो सकिएको छ, यो अवधिमा जनताको कस्तो प्रतिक्रिया पाउनु भयो ?
निर्वाचन आयोगले दिएको चुनावी प्रचारप्रसारको अवधि भित्र रहेर हामी जनतामाझ पुग्यौं । मकवानपुरको अधिकांश विकट भेग मेरो निर्वाचन क्षेत्रमा पर्दछ । मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका साथै र हेटौंडाको वडा नम्बर ३ र १९ मकवानपुर क्षेत्र नम्बर २ (ख) मा पर्दछन् । मनहरी र हेटौंडाको केही भाग बाहेक अधिकांश भाग भौगोलिक हिसावले विकट छ । यसअघि पनि म आफ्नो निर्वाचन क्षेत्रको गाउँटोलमा पुग्ने गरेको छु र सदभाव नै पाउने गरेको छु । अहिले पनि चुनाव लक्षित अभियान लिएर जनतामाझ पुग्दा जनताको माया र सदभाव नै पाएको छु । म प्रति जनताको आशा, भरोसा र विश्वास जोडिएको पाएँ । हाम्रो दुःखसुखमा हेर्ने मान्छे इन्द्र बहादुर बानियाँ हो भन्ने आत्मविश्वास त्यस भेगका युवादेखि ज्येष्ठ नागरिकसम्ममा पाएको छु । स्थानीयस्तरमा आफैं पनि सर्र्वसाधारणले मेरो पक्षमा मत मागरिरहनु भएको पाएँ । मतदाताको यही हौसला र प्रेरणाका साथ चुनावी प्रचारप्रसारको अभियानलाई उत्साहपूर्ण ढंगबाट सम्पन्न गरिएको छ । अब यही उत्साहका साथ मतदाताहरु मतदानको प्रक्रियामा सबै सहभागी हुनु हुनेछ ।

घरदैलोको क्रममा निर्वाचनप्रति मतदाताहरुको धारणा कस्तो पाउनु भयो ?
निर्वाचनप्रति मतदाताहरु एकदमै उत्साहित हुनुहुन्छ । आफ्नो अधिकार प्रयोगबारे भुगोलको हिसावले विकट भएपनि मतदाताहरु सचेत भएको पाएँ । मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन र उम्मेदवारहरुबारे उहाँहरुले आफ्नो क्षेत्रमा छलफल गरिरहेको पाएँ । सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट उहाँहरु यसबारे अपडेट रहेको पाएँ । चुनावी घरदैलोमा आएका उम्मेदवारहरुबारे पनि उहाँहरुले धारणा बनाएको पाएँ । शहरी क्षेत्रमा मात्रै हैन ग्रामिण भेगसम्म पनि निर्वाचनबारे मतदाताहरुमा चेतना बृद्धि भएको पाएको छु । यो सचेतना अभिबृद्धिमा सूचना प्रविधिको ठूलो भूमिका रहेको पाएँ । निर्वाचनलाई लिएर उहाँहरुमा सकारात्मक प्रतिक्रिया पाएको छु ।

तपाई लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ ? गठबन्धनप्रति मतदाताहरुको धारणा के छ ?
मैले अघि नै भनिसकें अहिले आमसञ्चारमाध्यम र सामाजिक सञ्चालबाट ग्रामिण भेगसम्मका मतदाताले लोकतान्त्रिक बाम गठबन्धनको आवश्यकताबारे जानकार भएको पाएँ । अहिलेको गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता लगायतका परिवर्तनले स्थापित गरेको व्यवस्था र मुद्धाको रक्षाका लागि भएको हो । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली नेतृत्वको अहिलेको चुनावी मोर्चा व्यवस्था र उपलव्धी मास्न अग्रसर छ । त्यसैले अहिलेको व्यवस्था र समावेशी मुद्धाको रक्षा र जनताको अवस्था परिवर्तनका लागि लोकतान्त्रिक बाम गठबन्धन भएको विषय मतदाताले बुझेको पाएँ । यसलाई हामीले थप प्रष्ट पारेका छौं । अघिल्लो निर्वाचनमा ५ बर्ष सरकार चलाउने जिम्मेवारी दिए पनि बिचमै केपि शर्मा ओलीले संसद विघटन गरेको, भ्रष्टाचारमा मात्रै ध्यान केन्द्रित गरेको जस्ता विषय गाउँघरमा सबैले बुझ्नु भएको पाएँ । त्यसैले पनि मतदाता लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा रहेको चुनावी अभियानका क्रममा मैले पाएको छु ।

आफ्नै दलमा समस्या देखिन्छ, गठबन्धनमा पनि समस्या छ, प्रतिष्पर्धी त छँदैंछन्, यसले चुनावी नतिजालाई नकारात्मक असर गर्दैन ?
गठबन्धनका सहयात्री दल र उम्मेदवारले बाम लोकतान्त्रिक गठबन्धनको औचित्यबारे मतदाताहरुलाई प्रष्ट बुझाएका छौं । उहाँहरु कतै विचलित हुनुहुन्न । दलमा रहेका समस्यालाई पनि समाधान गरेका छौं । यसको उदाहरण त विभिन्न दल र स्वतन्त्रबाट उम्मेदवारी दिनु भएका साथीहरु आफ्नो उम्मेदवारी स्थगित गरेर हाम्रो चुनावी अभियानलाई सफल बनाउन लाग्नु भएको छ । विपक्षी दलहरुबाट समेत पार्टी प्रवेश गरेर सहयात्रा र गठबन्धनको विजय यात्रामा सहभागी हुनु भएको छ । यसले पनि स्पष्ट हुन्छ कि गठबन्धन र गठबन्धनका सहयात्री दलका नेता कार्यकर्ता असमझदारीलाई टुंग्याउँदै एकतावद्ध भएर मंसिर ४ पछि लोकतान्त्रिक बाम गठबन्धनको विजय उत्सव मनाउन तत्पर हुनुहुन्छ । हामी अझै पनि सबैको समस्या समाधान र आवाज समेट्न सधैं तत्पर रहेकाले व्यक्तिगत तिक्तता बिर्सिएर अहिलेको चुनावी महाअभियानमा लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा एकजुट हुन पुनः सबैलाई विनम्रतापूर्वक आह्वान गर्दछु ।

उम्मेदवारहरु चुनावमा देखिने र जितेपछि हराउने गुनासो मतदाताको छ नि ?
म सधैं उहाँहरु माझ नै रहेको र निरन्तर निर्वाचन क्षेत्रमा विकास र सहयोग लिएर पुग्ने गरेकाले मैले यस्तो गुनासो खेप्नु परेको छैन । यसअघि मलाई माया गरेर विजयी गराएपछि नेपाली कांग्रेस लामो समय संघदेखि प्रदेशसम्म प्रतिपक्षमा रहेको थियो । त्यस्तो अवस्थामा पनि मैले आफ्नो क्षमताले भ्याएसम्म विकास र सहयोग गरेको बारे त्यस क्षेत्रका मतदाता जानकार हुनुहुन्छ । स्थानीयस्तरमा पनि पार्टीको संरचना सधैं जनतासंग जोडिएको छ । कोरोना महामारीमा त्यस भेगका विपन्न वर्गलाई खाद्यान्न वितरण गरेको उहाँहरुलाई जानकारी छ । जाडोमा विपन्न चेपाङ, तामाङ समुदाय र विद्यार्थीलाई न्यानो कपडा लिएर पुगेको छु । सरकारमा नहुँदा व्यक्तिगत ढंगले सडक, खानेपानी लगायतका पूर्वाधारको काम गरिरहेको छु भने पछिल्लो पटक गठबन्धनको सरकार हुँदा करिब ४ बर्ष अघिल्लो सरकारले गर्न नसकेको विकास योजना एक बर्षमा त्यस क्षेत्रमा पु¥याएको छु । त्यसैले पनि मैले मतदाता र शुभेच्छुकबाट ताली नै पाएको छु । त्यो मंसिर ४ गते हुने मतदानको परिणामबाट पनि प्रष्ट हुन्छ ।

धेरै उम्मेदवार मैदानमा हुनुहुन्छ, मतदाताले यसपटक पनि यहाँलाई मतदान गर्नुपर्ने कारण के छ ?
म समाजसेवाको उद्देश्यले राजनीतिमा आएको हुँ । जीवनयापनका लागि मेरो पेशा व्यवसाय छ, म राजनीतिलाई पेशा बनाउने कुराको विरोधी हुँ । म सधैं जनताको व्यक्तिगत सुखदुःख, सामाजिक हित र भूगोलको विकासमा जोडिएको छु । मैले आफ्नो निर्वाचन क्षेत्रको सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीका लागि राज्यस्तरमा पहल गरेर धेरै काम गरेको छु । राज्यस्तरबाट हुन नसकेका कतिपय काम आफ्नो व्यक्तिगत सहयोगबाटै पुरा गरिरहेको छु । यसबारे मेरो निर्वाचन क्षेत्रका मतदातालाई अवगत छ । म विकास र जनताको जीवनस्तर सुधारका लागि बागमती प्रदेशका सबै जिल्लामा पुगेर समस्या समाधानमा जुटेको छु । जनताको व्यक्तिगत समस्यादेखि विकासका काममा समेत प्रत्यक्ष जोडिएर काम गरिरहेकोले पनि मेरा मतदाता मलाई मतदान गर्न आतुर हुनुहुन्छ । म पुनः अर्को कार्यकाल आफ्ना मतदाताको सेवाका लागि दृढ संकल्पित भएर अघि बढेको छु, उहाँहरुको मतबाट बिजयी हुनेमा ढुक्क छु ।

यहाँलाई बागमती प्रदेशको आगामी मूख्यमन्त्रीको रुपमा पनि मतदातामाझ चर्चा पाईएको छ नि ?
२०७० सालमा मकवानपुर क्षेत्र नम्बर १ का मतदाताले निर्वाचित गरेर जिम्मेवारी दिएदेखि नै त्यस अघि झैं म निरन्तर कर्ममा अघि बढेको छु । यो अवधिमा मैले संविधान सभा सदस्य, गृह राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेको छु । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दलको नेताको जिम्मेवारीलाई संसदीय मर्यादाभित्र रहेर सशक्त ढंगले पूरा गरेको छु । पछिल्लो पटक गठबन्धन दलको प्रदेश सरकार निर्माण भएपछि सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलको नेताको रुपमा सरकारमार्फत जनताको विकासको भोक मेट्न काम गरेको छु । व्यक्तिगत रुपमै जनताको शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास लगायतका क्षेत्रमा काम गरेको जस्ता कारणले पनि मतदातामा मप्रति विश्वास र भरोसा छ । म पार्टीको इमान्दार कार्यकर्ता नभएका कारण पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्न प्रतिवद्ध हुनेछु, मूख्यमन्त्रीको जिम्मेवारी पाउँदा प्रदेशको विकासलाई नयाँ उचाईमा पु¥याउन काम गर्नेछु । बागमती प्रदेशभर गठबन्धनका उम्मेदवार विजयी गराउने अहिलेको मेरो मूल जिम्मेवारी हो, म त्यसतर्फ नै आफ्नो ध्यान केन्द्रित गरिरहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button