हेटौंडा, बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुन लागेको छैठौं बागमती गोल्डकपको तयारी पूरा भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिँदै खेल तालिका सार्वजनिक गरेको हो ।
फागुन १ गतेबाट शुरु हुने प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाएको छ । बागमती गाउँपालिका–८ मा रहेको जनता माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा राईट लेन एजुकेसन बागमती युवा क्लब सर्लाही र मच्छिन्द्र फुटबल क्लब, काठमाडौं भिड्ने भएका छन् । प्रतियोगितामा जावलाखेल युवा क्लव, राइटलेन एजुकेसन बागमती युथ क्ल्वब सर्लाही, मछिन्द्र फुटबल क्लब, नव जनजागृति क्लव सिमरा, एनआरटी फुटबल क्लव, त्रिभुवन आर्मी क्लव, हिमालयन शेपा क्लब, बागमती खेलकुद विकास समिति, एपिएफ फुटबल क्लब र चर्च ब्याईज युनाइटेड रहेका छन् । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठले बताए ।
यसअघि पाँचौँ संस्करणमा विजेता टोलीले आठ लाख नगद पुरस्कार प्राप्त गरेको थियो। यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको अध्यक्ष श्रेष्ठले बताए। उनको अनुसार यस वर्षको प्रतियोगिता सञ्चालनका लागि ७९ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले गाउँमा गोल्डकपको आयोजना गर्दा खेलाडीहरु उत्पादन हुने र ठाउँको विकासमा योगदान पुग्ने बताए ।
गत संस्करणमा ‘ए’ डिभिजन क्लब संकटालाई हराउँदै विदेशी टोली एफसी भुटनिज स्पोर्टस् क्लबले उपाधि जितेको थियो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी, प्रशिक्षक र हरेक खेलको म्यान अफ दी म्याचलाई समेत नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए।