सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली चुनावी मैदानमा छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा लोकप्रिय मत पाएर पनि झिनो मतान्तरले पराजित भएका उनलाई यसपटक गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलको साथ रहेको छ । कांग्रेस हेटौंडाको निवर्तमान नगर सभापति समेत रहेका पराजुली विभिन्न सामाजिक कार्यमार्फत जनतासँग जोडिदै आइरहेका छन् । भूकम्पदेखि कोरोना संक्रमणकाल सम्म उनले विपन्न र समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् । उनै पराजुलीसंग निर्वाचनको सन्दर्भमा रहेर गरिएको कुराकानी :
चुनावी अभियान जारी छ । मतदाता के भन्छन्, चुनाव जित्नुहुन्छ ?
म स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर पदमा पराजित भएदेखि नै निरन्तर यहाँका जनताको सुखदुःखमा छु । चुनावको मिति घोषणा भएर मेरो नाममा टिकट आएदेखि म थप सक्रिय भएर लागेको छु । प्रत्येक वडा, टोलमा पुग्ने प्रयास गरेको छ । चुनावी अभियान राम्रोसंग चलिरहेको छ । मतदाताको धेरै ठूलो आशा र अपेक्षा छैनन् । विकास निर्माणको काम हुनुपर्यो । सुखदुःखमा आफ्नो जनप्रतिनिधि भेटिनुपर्यो । चुनावपछि पनि गाउँ आउनुपर्यो भन्ने नै छ । चुनाव जित्ने कुरामा कुनै शंकै छैन । निरन्तर जनताको माझमा रहँदै आएको छु, वहाँहरुले खोज्दा सहजै भेटिन्छु । यसकारण म चुनाव जित्छु ।
प्रदेशसभा सदस्य पदमा यस क्षेत्रमा मतदाताले तपाईंलाई नै किन मत दिनुपर्ने ?
म निरन्तर जनताको साथमा छु । सुखमा छु, दुःखमा छु । खोज्दा भेटिन्छु । राजनीतिलाई सेवा बनाएर अघि बढेको छु । मलाई राजनीतिमा लागेर कमाउनु छैन । धेरै उम्मेदवारहरु एउटा निर्वाचनमा पराजय भोग्ने बित्तिकै मैदान छोडेर हिँड्ने गरेका छन् । मलाई अघिल्लो स्थानीय निर्वाचनमा पनि पार्टीले हेटौंडाको मेयरको टिकट दिएको थियो । प्राविधिक कारण जित्न सकिएन, त्यसपछि पनि म निरन्तर यहाँको विकास र समृद्धिको अभियानमा लागिरहेकै छु । मुलुकमा भूकम्पदेखि कोरोना आउँदा सम्म म जनतालाई परेको अप्ठेरोमा मल्हम लगाउन पुगेको छु । र, यसपटक जनप्रतिनिधि भएर जनताको सेवा गर्ने उद्देश्यका खातिर म जनताकोमा छु, यसको मतलव म चुनाव आएपछि मात्रै जनताकोमा आएको होइन । यस्तै कारणहरुले मतदाताले मलाई मत दिनुपर्छ र दिनुहुन्छ भन्ने मेरो विश्वास हो ।
तपाईका एजेण्डाहरु केके रहेका छन् ?
उहाँका जनताले आधारभुत आवश्यकताहरु पनि प्राप्त गर्न सकिरहेका छैनन् । शिक्षा, स्वास्थ्य, रोजगार, कृषि पर्यटनको योजना लिएर हामि जनतामाझ गइरहेका छौ । सामान्य भन्दा सामान्य काम पनि विगतको सरकारले गर्न नसकेको वहाँहरुको गुनासो छ । जनतामा आक्रोश पनि छ । मकवानपुर प्रदेशको राजधानी पनि भयो तर राजधानीबासीको अनुभुत गर्ने केही कुरा पनि हामीले दिन सकेका छैनन् । हेटौंडा अस्पतालको भवन राम्रो र ठूलो पाएका छौं, तर त्यहाँभित्र मुटु, किड्नी लगायतका विशेषज्ञ डाक्टरहरुको अभाव छ । बालबिालिका, बृद्व, तथा विपन्नहरुलाई निःशुल्क सेवा दिन सकिएको छैन । हेटौंडा अस्पताललाई भौतिक रुपमा मात्र नभई सबै स्रोतसाधन उपलब्ध हुने अवस्था बनाउनुपर्नेछ । यहाँबाट उपचारको लागि चितवन जान नपर्ने अवस्था बनाउनको लागि हाम्रो उम्मेदवारी हो । शिक्षामा प्रदेशस्तरीय विश्वविद्यालय यही स्थापना गर्ने योजना छ । गरिव र विपन्नको छोराछोरीले पनि यही डाक्टर, ईन्जिनियर र वकिल हुन पाउने व्यवस्थाको लागि लागिरहेका छौ । रोजगारीको लागि हामिसँग हेटौंडामा पुरानो औद्योगिक क्षेत्र पनि छ, परिकल्पना गरेको नयाँ औद्योगिक क्षेत्र पनि छ । व्यवसायीहरुलाई पनि कर छुट दिने हो भने व्यवसाय सञ्चालन गर्न सहज हुन्छ र त्यहाँबाट रोजगारीको अवसर पनि सिर्जना हुन्छ । कृषिको कुरा गर्नुपर्दा विगतको सरकारले पहुँचवालालाई मात्रै अनुदान दिने काम गर्यो । वास्तविक किसानले नपाउने अवस्था चिर्दै वास्तविक किसानलाई अनुदान दिएर प्रोत्साह गर्ने काम हामी गर्नेछौ । मठ मन्दिर र गुम्बाहरुको संवद्र्वन गर्दै पर्यटनलाई बढाउने काम पनि हामी गर्छौ । आँखाले देखिने र छाम्दा भेटिने काम हामी गर्नेछौं । हामी गर्नसक्ने काम मात्रै बोल्छौं र बोलेको कुरा पूरा गरेरै छोड्नेछौं ।
नीति नियम बनाउने तहमा तपाईको कस्तो भूमिका रहन्छ ?
अझैपनि धेरै बिषयको नीति नियम निर्माण गर्न बाँकी नै छ । निर्वाचित भएपछि स्वास्थ्य, शिक्षा, पर्यटन लगायत सबैको लागि नीति नियम बनाउनुपर्छ । बालबालिका र महिलाहरुको अधिकारको लागि नीति नियम बनाउन आवश्यक छ । विकास निर्माणको लागि पनि पहिला नीति नियम बनाउनु जरुरी छ । पहिल नीति नियम बनाएर मात्रै विकास निर्माणको काम सुरु हुन्छ । हामी बागमती प्रदेशमा विकासको लहर ल्याउने अभियानमा छौं । हुनत मैले जितेँ भने प्रदेशसभा सदस्यका रुपमा मेरो पहिलो कार्यकाल हुनेछ । म सबै क्षेत्रसंग जानकार व्यक्तित्वहरुसंगको सल्लाहमा आवश्यक परामर्शसहित अघि बढ्नेछु ।
गठबन्धनमै समस्या छ, कांग्रेसको पनि एउटा पक्षले तपाईंलाई सहयोग गर्दैन भन्ने छ नि ?
यो एकदम गलत हल्ला हो, विरोधीहरुले चलाएको अफवाह मात्रै हो । यो पवित्र गठबन्धन हो । मुलुकलाई आवश्यक परेको बनेको हो । कसैलाई चुनाव जिताउन वा हराउनको लागि बनेको गठबन्धन होइन । पवित्र उद्देश्यले बनेको गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादीसँगै अन्य पार्टीका साथीहरु पनि ईमान्दारितापूर्वक लाग्नुभएको छ । गठबन्धनमा कुनै समस्या छैन । कांग्रेसभित्र पनि जिल्लादेखि तल्लो तहका नेता कार्यकर्तासम्म पनि कांग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा खटेर लाग्नुभएको छ । गठबन्धनप्रति माओवादी र समाजवादीसहित अन्य दलका नेता कार्यकर्ता पनि उत्तिकै खटिनुभएको छ । गठबन्धनको आवश्यकता र औचित्यतालाई सबै दलका नेता कार्यकर्तादेखि जनतासम्मले बुझेका छन् । ५ बर्षका लागि प्राप्त जनमतको कदर गर्न नसक्ने दलका उम्मेदवारलाई अब जनताले मतदान गर्ने छैनन् । उनीहरुप्रति जनता आक्रोशित छन् ।
स्थानीय तहको निर्वाचनमा आफूले टिकट नपाएपछि तपाईंले गठबन्धन उम्मेदवारलाई जिताउन लाग्नुभएन भन्ने आरोप छ नि ?
यो पनि विरोधीहरुले चलाएको हल्ला मात्रै हो । मेयर पदमा मेरो पनि दावी थियो, अघिल्लो निर्वाचनमा थोरै मतले हारेको र निरन्तर जनताको बीचमै रहेकोले मेरो दावी स्वभाविकै थियो । तर गठबन्धनका कारण हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा (एस)को भागमा पर्यो । गठबन्धनको नियम नै यही हो । अहिले पनि गठबन्धनका कारण सबै पार्टीका सबै साथीहरुले टिकट पाएका छैनन् । नेकपा एसका उपाध्यक्ष मीनाकुमारी लामाले मेयर र हाम्रै नेपाली कांग्रेसका नेता मेरो प्यारो भाई राजेश बानियाँले उपमेयरको टिकट पाएकै दिनदेखि म वहाँहरुलाई जिताउने अभियानमा लागेको छु । सोही अनुसार हामीले नतिजा पनि प्राप्त गर्यौ । अहिले विरोधीहरुसंग कुनै एजेण्डा नभएपछि यस्तै खालका गलत र भ्रमका कुरा गर्ने, अफवाह फैलाउने, एकले अर्कोलाई सहयोग गर्दैन भन्ने, उचाल्ने र पछार्ने काम गरिरहेका छन् । यस्ता कुराम कुनै तुक छैन । त्यसकारण यस्ता हल्लाको पछि नलागी गठबन्धनको पक्षमा मतदान गर्न र मतदान गर्ने वातावरण बनाउन म सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अनुरोध गर्न चाहन्छु ।
तपाईले अन्य प्रतिष्पर्धी उम्मेदवारलाई कसरी हेर्नुभएको छ ?
यो अवस्थामा सबै उम्मेदवार बराबर नै हुन् । जनताको नजरामा हामी उम्मेदवार हौं, कसले कति मत प्राप्त गर्ने र जित्ने भन्ने चुनाव पछि मात्रै थाहा हुने कुरा हो । वहाँहरु पनि आफ्नो चुनावी अभियानमा व्यस्त हुनुहुन्छ । सबैजनालाई शुभकामना पनि छ । कसैलाई आरोपप्रत्यारोप गर्ने वा नराम्रो कुरा गर्ने हाम्रो संस्कार छैन । सबैको पवित्र उद्देश्य चुनाव जित्ने र जनताको सेवा गर्ने नै हो । हामीले जनताको सुखदुःखलाई बुझेर वहाँहरुको चाहना अनुसार विकास र समृद्धिको अभियानमा लाग्नुपर्नेछ । यदि मैले जितें भने पनि अन्य उम्मेदवार साथीहरुको राम्रा योजनालाई आत्मसाथ गरेर अघि बढ्नेछु ।
अन्त्यमा मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
मतदाता मेरो भगवान हुन् । वहाँहरुको माया, साथ, सहयोग र हौसलाकै कारण म यो चुनावी अभियानमा अघि बढेका छु । म मतदातालाई सधैं शिरमा राखेर काम गर्छु । वहाँहरुको सेवा नै मेरो एकमात्र चाहना हो । राजनीतिप्रति युवाहरुको आकर्षण घट्दो क्रममा रहेको छ । राजनीतिलाई धेरैले फोहोरी खेल भन्ने गरेका छन् । राजनीतिमा रहेको फोहोरलाई सफा गर्दै मकवानपुरबासीको मुहारमा खुसी ल्याउन, यहाँको विकास र समृद्धिको योजनासहित राजनीतिमा अघि बढेको छु । जनताको माझ गरेका सबै प्रतिबद्धताहरु पूरा गर्नेछु । यदि चुनाव जितेर पनि मैले बोलेका कुरा पूरा गर्न सकिन भने म अर्कोपटक भोट माग्नै आउँदिन । मलाई २०७४ मा पनि विश्वास गरेर यहाँका मतदाताले मत दिनुभएको थियो । आम मतदाताले यसलाई अवसर दिए केहि गर्छ भन्ने विश्वास र माया देखाइरहनु भएको छ । म सधैं तपाईंहरुको घरदैलोमै छु । तर यो पटक भने जनप्रतिनिधि हुने र यहाँहरुकै लागि काम गर्ने उद्देश्यसहित चुनावी मैदानमा छु, यस पटक जिताएर काम गर्ने अवसर प्रदान गरिदिनुहोला । तपाईं मतदाताको शिर निहुरिने काम मबाट हुनेछैन । म तपाईहरुकै साझा भएर काम गर्नेछु । धन्यवाद ।