हेटौँडा, संघीय सरकारले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गतिविधि गरिरहेको भन्दै मकवानपुरका सञ्चारकर्मीले विरोध जनाएका छन् । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने तथा सञ्चारगृहमा प्रहरी प्रवेश गराउने सरकारी गतिविधिप्रति उनीहरूले आपत्ति जनाएका हुन् ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा सोमबार हेटौँडामा आयोजित सरकारका प्रेसविरोधी गतिविधिका सम्बन्धमा सञ्चार संगठनका प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईंले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र बिना आधार सञ्चारगृहमा प्रवेश गर्ने सरकारी गतिविधि असह्य भएको बताए । उनले शाही शासनकालमा समेत सेना सञ्चारगृहभित्र प्रवेश गर्दा समस्या उत्पन्न भएको स्मरण गर्दै अहिलेको सरकारले भने सञ्चारमाध्यमलाई नै बन्द गराउने नियतले गतिविधि गरिरहेको आरोप लगाए ।
सरकारले मिडियालाई एकपछि अर्को गर्दै समस्यामा पार्ने काम गरिरहेको उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रताको रक्षा गर्न सञ्चारकर्मी एकजुट हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सरकारले कानुनविपरीत सञ्चारमाध्यममा प्रहरी पठाउने र सञ्चारकर्मीलाई पक्राउ गर्ने काम गरिरहेको बताए । यस्ता गतिविधिले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार गरेको उनको भनाइ थियो ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्मा तथा महासंघका पूर्वसचिव गणेश दर्पण अधिकारीलगायतले सरकारका प्रेसविरोधी गतिविधिबारे धारणा राख्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि सञ्चारकर्मीबीच एकता आवश्यक रहेको बताएका थिए ।







