हेटौंडा, हेटौंडा–१७ हटियाका विवेक सुवेदी पछिल्ला तीन वर्षदेखि व्यवसायिक बाख्रापालनमा सक्रिय छन्। ३१ वर्षीय सुवेदीले ‘बाख्रा पालन गरी स्वरोजगार बनौं, आर्थिक हैसियत मजबुत बनाऔं’ भन्ने नारासहित बिबिआर एग्रो प्रालि स्थापना गरी अष्ट्रेलियाबाट आयात गरिएको बोयर जातका बाख्रा पाल्न थालेका हुन्। हाल उनको फार्ममा करिब २४० वटा बाख्रा र ३ हजार लेयर्स कुखुरा रहेका छन्।

काठमाडौंमा करिब १० वर्ष मोबाइल पसल सञ्चालन गरेका सुवेदी आफ्नै क्षेत्रमा टिकाउ रोजगारी खोज्दै गाउँ फर्किएका हुन्। ‘घरबाहिरभन्दा आफ्नै क्षेत्रमा कृषि उद्यम गर्दा दीर्घकालीन सम्भावना देखेँ,’ सुवेदीले भने। हेटौंडाकै बद्रीनाथ ज्ञवाली र राजु पराजुलीसँग सह–लगानीमा सञ्चालन भएको फार्ममा हालसम्म करिब तीन करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
फार्ममा सुपर नेपियर, जै, बार्सिम र किम्बुजस्ता घाँस खेती गरिएको छ। बोयर जातका बाख्रा महँगो हुने भएकाले एउटा बोकाको मूल्य हाल दुई लाख ५० हजार रुपैयाँसम्म पर्ने सुवेदीले बताए। बीउका लागि बिक्री हुने भएकाले केही नाफा देखिए पनि समग्रमा किसानलाई घाटा पर्ने गरेको उनको भनाइ छ।
नेपाल व्यवसायिक बाख्रापालन महासंघ मकवानपुरका अध्यक्ष समेत रहेका सुवेदीले प्रदेश सरकारलाई प्रतिकिलो १,२०० रुपैयाँ जिउँदो मूल्य तोक्न सिफारिस गरिए पनि अझै प्रतिक्रिया नआएको गुनासो गरे। ‘घाँस र दानाको मूल्य बढिरहँदा मासुको मूल्य बढाउन सरकारले हिचकिचाउँछ, यसरी किसानलाई घाटा परिरहेको छ,’ उनले भने।
अनुदानसम्बन्धी प्रश्नमा सुवेदीले ठूलो लगानी गरेका किसानलाई बेवास्ता गरिएको आरोप लगाए। उनका अनुसार वास्तविक कृषकभन्दा सोर्स–फोर्समा रहेका फार्मलाई मात्र अनुदान उपलब्ध गराइन्छ। यसैबीच भारतबाट आयात हुने खसी–बोकाको मूल्य सस्तो हुने भएकाले नेपाली उत्पादकलाई प्रतिस्पर्धा गर्न कठिन भएको सुवेदीको भनाइ छ।
सुवेदीका अनुसार व्यवसाय सुरु गरेको पहिलो वर्ष घाटा भए पनि पछिल्लो वर्ष खर्च कटाएर केही नाफा देखिन थालेको छ। उनी भन्छन्, “अहिले संघर्ष छ, तर भविष्यमा यो व्यवसाय नाफामूलक हुन्छ भन्ने विश्वास छ।”







