हेटौंडा, जिल्ला लिग फुटबल प्रतियोगिताको तयारीका लागि आयोजित लिग छनौट प्रतियोगितालाई हेटौंडा १० मा रहेको नारायणी कलेजले मुख्य प्रायोजन गर्ने भएको छ ।
आयोजक मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भोली शनिबारबाट हुन लागेको क्वालिफाइ प्रतियोगिताका लागि नारायणी कलेजले मुख्य प्रायोजन गर्ने भएको हो । शुक्रबार पत्रकार सम्मेलनकाबीच मकवानपुर जिल्ला फुटबल संघ र नारायणी कलेजले मुख्य प्रायोजनका लागि सम्झौता गरेका हुन् ।
योसँगै अब क्वालिफाइको विजेता टिमले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्ने भएको छ । नारायणी कलेजका प्रमुख रघुनाथ खरालले असहज अवस्थामा पनि फुटबल संघसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । लिग क्वालिफाइको पुरस्कार र विधागत उत्कृष्ट खेलाडीलाई दिइने रकम नारायणी कलेजले व्यहोर्ने उनले बताए ।
विद्यार्थीमा खेलकुदप्रति अभिरुची बढाउन खेल शिक्षक नियुक्ती गरिएको समेत उनले जानकारी दिए । क्वालिफाइको लागि जिल्लाका १२ वटा क्लव दर्ता भएको छ ।







