हेटौंडा/कतारमा सञ्चालन भैरहेको फिफा विश्वकप फुटबलमा सहभागी ३२ राष्ट्रका खेलाडीलाई नेपाल भ्रमणमा आउन निम्तो दिने उद्देश्यले हेटौंडाबाट अभियान सुरु भएको छ । एष्ट्रोनोभा फाउन्डेसन नेपालले हेटौंडाको पर्यटकीय स्थल सहीद स्मारकमा वल्र्डकप पार्क निर्माण गरी अभियान सुरु गरेको हो ।
फाउन्डेसनले मंगलबार स्मारकमै पत्रकार सम्मेलन गर्दै अभियानको रुपमा सानो प्रयास गरिएको फाउन्डेसनका अध्यक्ष किसन बास्तोलाले जानकारी दिए । उनले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा ३२ राष्ट्रका खेलाडीहरुलाई भित्र्याउने उद्देश्यले निम्तो सहित सञ्चार माध्यम मार्फत खबर पुगोस् भन्ने उद्देश्यले यो अभियान थालनी गरिएको बताए ।
उनले फुटबलप्रेमी दर्शकलाई मध्यनजर गर्दै स्मारक परिसरमा वल्र्डकप पार्क बनाइएको बताए । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले राष्ट्रले गर्नुपर्ने काम निजी क्षेत्रले गरेकोमा धन्यवाद दिदैं सरोकारवाला निकायसम्म सञ्चार प्रवाह गर्ने प्रतिवद्धता जनाए ।
मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज भ्लोनले फुटबल संग सम्बन्धित निकायले गर्नुपर्ने काम निजी क्षेत्रबाट सुरु भएको भन्दै खुसी व्यक्त गरे । राष्ट्रिय फुटबल खेलाडी रन्जन विष्टले यस्त अभियानले विश्वसामु नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । कार्यक्रममा फाउन्डेसनका सदस्य मनोज यादवले यस अभियानलाई प्रचारप्रसार गरी विश्वभरका खेलाडीसम्म सन्देश प्रवाह गरिदिन आग्रह गरे ।






