हेटौंडा, स्वच्छन्द भैरव युवा क्लवको आयोजनामा थाहा नगरपालिका वडा नम्वर ९ मा भएको जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधी विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले चुम्न सफल भएको छ । सोमबार भएको फाइनल खेलमा छहारी युवा समाज हेटौंडालाई २५–१९, २५–२२, २६–२४ को सोझो सेटले पराजित गर्दै विनयबाबुले २७ औँ संस्करणको उपाधी चुमेको हो ।

प्रतियोगितामा चित्लाङ खेलकुद विकास समिति थाहा ९ तृतीय भएको थियो । प्रतियोगिताको विजेता टिमले नगद ६० हजार, उपविजेता टिमले नगद ३० हजार र तेस्रो हुने टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेको थियो ।
प्रतियोगितामा छहारी युवा समाजका निश्चल राना मगर बेष्ट स्पाइकर, छहारीकै निश्चल कौजा बेष्ट सटर , बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका उज्जवल लामा बेष्ट लिब्रो, विनयबाबुकै उपास विष्ट बेष्ट ब्लकर, विनयबाबुकै निराजन गुरुङ बेष्ट प्लेयर घोषित भएको स्वच्छन्द भैरव युवा क्लवका सचिव निर्मल बलामीले जानकारी दिए ।
प्रतियोगितामा विनयबाबुका शंकर कार्की बेष्ट कोच घोषित भए । स्वच्छन्द भैरव युवा क्लवका अध्यक्ष पुण्यमान बलामीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रतिनिधि सभा सदस्य महेश बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि रहेका बर्तौलाले चित्लाङमा हुने हरेक खेलमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रतियोगिताले व्यवसायीक खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उनले बताए ।
थानकोट चित्लाङको बाटोमा आवश्यक राजनीति भएकोले गर्दा बाटो निर्माणमा बजेट ल्याउन नसकेको उनको भनाइ रहेको थियो । प्रतियोगितामा १५ वटा टिमले सहभागिता जनाएका थिए ।






