हेटौँडा, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीलाई दुग्ध किसानहरूले सम्मान गरेका छन् । मनहरी क्षेत्रका दुग्ध किसानहरूको हकहित संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई बुधबार मनहरी १ स्थित क्षितिज दुग्ध उत्पादक सहकारीका किसानहरुले सम्मान गरेका हुन् ।
क्षितिजले आयोजना गरेको पशुपालन तथा दुग्ध उत्पादन तालिम उद्घाटन कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष शिवप्रसाद खनाल, संस्थाका अध्यक्ष राममणि न्यौपाने लगायतको उपस्थितिमा कालाखेतीलाई खादा तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो । किसानहरूको तर्फबाट मिठुदेवी मुक्तान, मिठुकुमारी मुक्तान र लक्ष्मी उप्रेतीले अध्यक्ष कालाखेतीलाई खादा लगाएर सम्मान गरेका थिए ।
अध्यक्ष कालाखेतीले दुग्ध किसानको हकहित र संरक्षणमा नेतृत्वदायी भूमिका खेलेको, समयमै दूधको भुक्तानी सुनिश्चित गरी किसानहरूमा भरोसा जगाएको तथा उत्पादनशीलता वृद्धिका लागि अतुलनीय योगदान पुर्याएको कदरपत्रमा उल्लेख छ । अध्यक्ष कालाखेतीले देखाएको दूरदर्शी नेतृत्वका कारण आफूहरू उत्साहित भएको सहकारीका अध्यक्ष राममणि न्यौपानेले बताए । विशेषगरी दूधको भुक्तानी समयमै हुने व्यवस्था मिलाइएपछि किसानहरूको आर्थिक अवस्था सुधार हुँदै गएको उनको भनाइ थियो ।
सम्मानपछि बोल्दै अध्यक्ष कालाखेतीले किसानहरूको विश्वास नै आफ्नो काम गर्ने ऊर्जा भएको उल्लेख गर्दै दुग्ध क्षेत्रको विकासलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले किसानमैत्री नीति तथा कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन वृद्धि र बजारीकरणमा थप सहजीकरण गरिने बताए ।
जनप्रतिनिधि जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै कालाखेतीले त्यसो भएमा मात्र जनप्रतिनिधि भन्न सुहाउने धारणा राखे ।
जनप्रतिनिधिले जनताका हरेक समस्यालाई नजिकबाट बुझेर समाधानका लागि पहल गर्नुपर्ने र उनीहरूको दुःखमा साथ दिनुपर्नेमा उनको जोड थियो । हरेक १ महिनाभित्र किसानले उत्पादन गरेका दूधको पैसा भुक्तानी सुनिश्चित गरिएपछि दुध उत्पादनमा वृद्धि भएको उनले सुनाए । गाउँपालिकामा पहिला प्रतिदिन ५,५०० लिटर दूध सङ्कलन हुने गरेकोमा अहिले बढेर १४,००० लिटर प्रति दिन पुगेको र यो अझै बढ्दो क्रममा रहेको उनले जानकारी दिए । दूधको भुक्तानी समयमै पाउन थालेपछि पशुपालन र दुग्ध उत्पादनमा उत्साह र ऊर्जा थपिएको किसानहरुले बताएका छन् । पछिल्लो समय गाउँपालिकाले सहकारीमार्फत दुग्ध किसानलाई मासिक रुपमा २ करोड ८० लाख रुपैयाँसम्म भुक्तानी भइरहेको अध्यक्ष कालाखेतीले बताए ।
दुइदिनसम्म सञ्चालन हुने तालिममा पशु सेवा कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधानले किसानहरुलाई पशु पालनको उपाय र दूध उत्पादन बढाउने तरिकाबारे तालिम दिनेछन् । कार्यक्रममा मनहरी १ का वडाध्यक्ष शिवप्रसाद खनालले आफूहरुले स्थानीयको सर्वाङ्गिण विकासमा ध्यान दिइरहेको बताए ।






