हेटौंडा, २२ मंसिर/अमर बाल साहित्य परिवारको आयोजना तथा नवसर्जक साहित्य चौतारीको सहकार्यमा साहित्यका लोक लयका कविता, मुक्तक, गजल र हाइकु लेखन प्रशिक्षण कार्यक्रम विहीबार सम्पन्न भएको छ ।
हेटौंडा १ मा रहेको अमर माध्यमिक विद्यालयमा भएको कार्यक्रममा अमर माध्यमिक विद्यालय कक्षा ६,७,८,९ र १० मा अध्ययनरत ६४ जना विद्यार्थीले सहभागिता जनाएका थिए । अमर बालसाहित्य परिवारकी अध्यक्ष आयुष्मा भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा अमर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका गौतमले विद्यार्थीलाई सिर्जनात्मक कार्यमा जोड्दै किताबी ज्ञानभन्दा व्यवहारिक तथा रचनात्मक ज्ञान दिनु अति आवश्यक रहेको बताए । नवसर्जक साहित्य चौतारीका परिकल्पनाकार तथा संरक्षक दीपक गौतमले प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कक्षा १० कि छात्रा पुष्पा थापाले गरेकी थिइन् भने कार्यक्रम अमर विद्यालयका सहायक प्रधानाध्यापक डीबी बर्तौलालगायतको आतिथ्यता रहेको थियो ।







