हेटौंडा,बसामाडी जेसीजको आयोजनामा बुधबारबाट हेटौंडामा २० औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुला रनिङशिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितालाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । यही शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै मेयर लामाले विभिन्न संघसंस्थाले आयोजना गर्ने खेलकुद प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुगेको धारणा राखिन् ।
खेलकुदसहित हेटौंडा उपमहानगरको सर्वाङ्गीण विकासमा लागिपरेको उनले जानकारी दिइन् । हेटौंडाको हुप्रचौरमा जारी प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । उद्घाटन खेलमा दुम्सीडाँडा क्लवले विजय यात्रा सुरु गरेको छ । हुप्र भेट्रान्स टिमलाई २५–१६, १९–२५ र १५–७ को सेटमा हराउँदै दुम्सीडाँडाले विजय यात्रा सुरु गरेको हो । आयोजक बसामाडी जेसीज बर्ष सन् २०२२ का अध्यक्ष चिराग अग्रवालको अध्यक्षतामा भएको उद्घाटनमा प्रतियोगिताको प्रायोजक बसामाडी जेसीजका अध्यक्ष सल्लाहकार ज्योतिरत्न बज्राचार्य, पूर्व अध्यक्ष सुनिल दाहाल, मुल कार्यक्रम संयोजक कार्यकारिणि उपाध्यक्ष सरोज पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भलिबल प्रतियोगिताको लागि करिब साढे २ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । नेतृत्व र व्यक्तित्व विकाससँगै जिल्लाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा खेलकुद क्षेत्रमा समेत बसामाडी जेसीजले विविध कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष अग्रवाल बताए । भलिबल खेलको विकास र खेलाडीको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनाका लागि यस प्रतियोगितालाई निरन्तरता दिँदै आएको उनले बताए । लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगितालाई स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यले प्रायोजन गर्दै आएका छन् । प्रतियोगिताको अघिल्लो संस्करण हटिया स्पोर्टस् एकेडेमीले जितेको थियो ।






