हेटौंडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्बन्धित परेका छन्। चालु आर्थिक वर्षको माघ मसान्तसम्म कार्यालयमा कुल ९७६ उजुरी दर्ता भएका छन्, जसमध्ये ६३३ वटा स्थानीय तहसँग सम्बन्धित रहेको कार्यालयले जनाएको छ।

१२ जिल्ला कार्यक्षेत्र रहेको हेटौंडा कार्यालयमा चालु आर्थिक वर्षमा दर्ता भएका ९७६ उजुरी र गत आर्थिक वर्षबाट बाँकी रहेका ८१८ गरी कुल १ हजार ७९४ उजुरी विचाराधीन रहेका थिए। तीमध्ये ७३८ वटा उजुरी फर्स्यौट गरिएको कार्यालय प्रमुख रामकृष्ण पुडासैनीले जानकारी दिए।
चालु आर्थिक वर्षका सात महिनाको अवधिमा सबैभन्दा बढी उजुरी पर्सा जिल्लाबाट आएका छन्। पर्साबाट २८७ उजुरी दर्ता भएका छन् भने बाराबाट २५०, रौतहटबाट १८६, मकवानपुरबाट १३९, चितवनबाट १११ र दोलखाबाट २ वटा उजुरी दर्ता भएका पुडासैनीले बताए।
यस अवधिमा सिन्धुपाल्चोक, धादिङ, रसुवा र नुवाकोट जिल्लाबाट भने कुनै पनि उजुरी दर्ता भएका छैनन्। गत आर्थिक वर्षमा हेटौंडा कार्यालयमा दर्ता भएका उजुरीमध्ये ५३.११ प्रतिशत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका स्थानीय तहसँग सम्बन्धित थिए। चालु आर्थिक वर्षमा भने यस्तो उजुरीको संख्या बढेर ६५ प्रतिशतभन्दा बढी पुगेको कार्यालयले जनाएको छ।






