हेटौंडा/बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । सोमबार ५ दलको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका जम्मकट्टेललाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन् ।
उनलाई माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । जम्मकट्टेललाई माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदको समर्थन गरेका हुन् । प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री दावी गर्न पौष २५ गते आइतबार अपरान्ह ४ बजेसम्मको समय दिएका थिए । बागमतीमा सरकार गठनका लागि प्रदेशसभामा रहेको ११० सांसदमध्ये ५६ सांसद भए पुग्छ ।
मुख्यमन्त्री जम्मकट्टेलको शपथ ग्रहण भने मंगलबार हुने भएको छ ।
उनलाई प्रदेश प्रमुख शर्माले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन् । उनके शपथका लागि मंगलबार बिहान ९ः३० बजेको समय निर्धारण गरिएको छ । मुख्यमन्त्री जम्मकट्टेलले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद विस्तारको तयारी गरेको छ । मुख्यमन्त्री जम्मकट्टेलले मंगलबार तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।
स्रोतका अनुसार प्रदेश सरकारमा तत्काल राप्रपा र एमालेबाट एक–एक जनाको प्रतिनिधित्व हुने भएको छ । यद्यपि उनीहरुलाई मन्त्रिपरिषदमा विभागीय जिम्मेवारी भने तत्काल नदिने भएको छ । मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशका १४ वटै मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्ने छन् ।