शनिबार महोत्सवमा भीड

हेटौंडा/ हेटौंडाको टिसिएन चौरमा जारी महोत्सवमा शनिबार दर्शकहरुको भीड लागेको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवमा अन्य दिनको तुलनामा शनिबार भीड लागेको हो । शनिबार करिब २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । यस्तै शनिबार करिब ४० लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजकको अनुमान छ ।

ADVERTISEMENT

शनिबार गायिका टिका प्रसाई र गायक किरण भुजेलले हेटौंडेली दर्शकलाई आफ्नो सांगीतिक प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेका थिए । कमेडियन राजा राजेन्द्र पोखरेलले दर्शकहरुलाई हँसाउदै आफ्नो प्रस्तुती दिएका थिए । उनले प्यारोडी गीत, क्यारिकेचर लगायतका प्रस्तुती दिएका थिए । महोत्सवमा आइतबार चर्चित गायक रमेशराज भट्टराई, गायिका मञ्जु पौडेल, कमेडियन सीता न्यौपानेको प्रस्तुती रहने आयोजकले बताएको छ । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ ।

हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका प्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । महोत्सवलाई शिवम् सिमेन्टले प्रायोजन गरेको छ भने सहप्रायोजनमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मीग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बताए ।

महोत्सवमा जुम्लाको मार्सी चामल, केराको मःम, रैथाने बाली कोदोको पिठोबाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्रि सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिसिङ लगायत रहेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *