हेटौंडा, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जको १३ औं बार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । पहिलो दिन सोमबार सहिद दिवसको दिन ‘सहिदको सपना र आजको नेपाल’ बिषयमा साहित्यकारसंग अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम भएको छ । रेडियो मकवानपुरमै भएको कार्यक्रमका सहभागी साहित्यकारले अझै सहिदको सपना पूरा नभएको गुनासो गरेका छन् ।
सर्जक सञ्जाल मकवानपुर अध्यक्ष निमेष निखिलले मुलुकको परिवर्तनका लागि सयौंले बलिदानी दिएपनि अझै जनताले सुखको अनुभव गर्न नसकेको बताए । ‘संविधान पूर्ण कार्यान्वयन अझै हुन सकेको छैन । जनताले परिवर्तनको प्रत्याभुती गर्न पाएका छैनन्, महंगी, बेरोजगार र भ्रष्टाचार बढ्दो छ’, उनले भने, ‘सहिदको सपना पूरा गराउनेतर्फ राजनीतिक दल र राज्य लाग्नु आवश्यक छ ।’ यस्तै समालोचक एवम् साहित्यकार घनश्याम घिमिरेले केही हदसम्म समाज र व्यवस्था परिवर्तन भएपनि सहिदको सपना भने पूरा हुन नसकेको धारणा राखे । अहिले अवस्थाले सहिदको आत्मा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै उनले जनताको मुहारमा हाँसो नभएको बताए ।
सहिद को हो भन्ने नै समस्या रहेको स्मरण गर्दै उनले राष्ट्र, समाज र परिवर्तनको लागि लडेकाहरु नै सहिद हुन् भन्ने बुझ्न जरुरी रहेको औंल्याए । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सचिव सुवास खनालले मुलुकको सकारात्मक परिवर्तनका लागि सहिदले बलिदानी दिएको भएपनि त्यसको कदर हुन नसकेको बताए । मुलुकमा विभिन्न नामको तन्त्र आएपनि देशले भने गति प्राप्त गर्न नसकेको उनको भनाई थियो । आँचल साहित्य कला पुञ्जका उपाध्यक्ष नीरा शर्माले मुलुकको विकास, समृद्धि एवम् परिवर्तन नै सहिदको सपना भएपनि त्यो पूरा हुन नसकेको बताइन् । अझै नेपालमा गाँस, बास, कपासको लागि आत्मदाह गर्नुपर्ने अवस्था रहेको भन्दै दुःख व्यक्त गरिन् । प्रगतिशिल लेखक संघ मकवानपुरका पूर्व अध्यक्ष पुरुषोत्तम आचार्यले देश र जनताको लागि ज्यान नै दिनु सामान्य कुरा होइन भन्ने बुझ्न जरुरी रहेको औंल्याए । अब हुने सहिदका कार्यक्रमहरु कतै औपचारिकतामै सिमित हुने त होइन भन्दै उनले प्र्रश्न गरे । मुलुकमा राजाको छोरा नै राजा हुने प्रथाको अन्त्य भएपनि दुखी गरिबको अवस्था उस्तै रहेको आचार्यको भनाई थियो ।
रेडियो मकवानपुरका प्रबन्ध निर्देशक आशिष दुलालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरुले सहिदसँग सम्बन्धित कविता वाचन समेत गरेका थिए । २२ गतेसम्म विविध कार्यक्रमको आयोजना हुँदैछ । आइतबार श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रम हेटौंडा १७ मा खाद्यान्न सहयोग, १८ गते रेडियोकै प्राङ्गणमा रक्तदान, १९ गते बालअधिकार विषयक विद्यालयस्तरीय कविता प्रतियोगिता हुनेछ । यस्तै २० र २१ गते रेडियो मकवानपुर कप फुट्सल प्रतियोगिता, २१ गते शनिबार मनहरी गाउँपालिका ४ मा बृहत निशुल्क स्वास्थ्य शिविर र २२ गते बार्षिकोत्सव समापन, दुईजनालाई सामुदायिक सम्मान र पुरस्कार वितरण कार्यक्रम हुनेछ ।
कविता प्रतियोगिताको विजेता विद्यार्थीले क्रमश : नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै रेडियो मकवानपुर कप फुट्सलको विजेता र उपविजेतालाई नगदसहित पुरस्कारको व्यवस्था रहेको बताइएको छ । रेडियोले बार्षिकोत्सवको अवसरमा दुईजनालाई जनही नगद १० हजार सहित सामुदायिक सम्मान समेत प्रदान गर्नेछ ।






