हेटौंडा, बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशव प्रसाद पोखरेलले आफ्नो कार्यकालका लागि ४४ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, रोजगारी अवसर सुनिश्चितता गर्ने, कृषि उद्योगहरुको स्थापनालाई प्रोत्साहन गर्ने र प्रदेशलाई समष्टिगत रुपमा खाद्य र पोषण सुरक्षाको प्रत्याभूती गराउने र हाल भइरहेको उत्पादन र खपतलाई आगामी ५ वर्ष भित्र दोव्वर वनाउने उनले बताए । आत्मनिर्भर कृषि र समृद्ध प्रदेशको परिकल्पना साकार गर्ने उनको लक्ष्य रहेको छ ।
उनले प्रदेश भित्रका कृषकहरुलाई सहज र सर्वसुलभ रसायनीक मल लगायत प्राङ्गारिक तथा जैविक मल उपलब्ध गराउन तत्काल कार्ययोजना तयार पार्ने, रसायनीक मलको कोटा बढाउन पहल गर्ने उनको प्रतिवद्धतामा उल्लेख छ । मन्त्रालय र काठमाडौं विश्वविद्यालय बीच भएको समझदारी बमोजिम प्रदेशमा रसायनीक मल कारखाना स्थापना सम्बन्धी अध्ययन कार्य सम्पन्न गर्ने र प्राप्त प्रतिवेदनको निष्कर्षलाई सम्भावनाको आधारमा कार्यान्वयन गर्दै लगिने, प्रदेश पोल्ट्री विकास वोर्ड गठन गर्ने कार्यलाई चालू आर्थिक वर्ष भित्र नै कार्यान्वयनमा ल्याउने, व्यवसायिकताको आधारमा वर्गिकरण गरी किसान परिचय पत्र वितरण गर्ने, कृषि उपजहरुको बिक्री वितरण नभएको अवस्थामा न्यूनतम समर्थन मूल्य तोकी खरिद गर्ने, प्रदेशलाई दूध, अण्डा, माछा–मासु, आलु, प्याज, लसुन र अदुवा लगायतका कृषि वस्तुहरुमा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई थप विस्तार गर्ने लगायतका प्रतिवद्धता रहेको छ ।
सार्वजनिक निजी सहकारीको साझेदारीमा आधुनिक साइलो भण्डारण निर्माण गरी न्यूनतम समर्थन मूल्यमा खाद्यान्न खरिद गरी भण्डारण गर्ने, कृषि अनुसन्धान, प्रसार र शिक्षा बीच प्रत्यक्ष समन्वय र सहकार्य गरी कृषि अनुसन्धानबाट प्राप्त नतिजालाई किसानको खेतवारीसम्म पुर्याई किसानको समस्या हल गर्ने, आधुनीक खेती प्रणाली अवलम्वन गर्दै स्थान विशेष परियोजना सञ्चालन मार्फत चक्लावन्दी÷सामुहीक खेतीलाई प्रोत्साहन गर्ने, जिवनस्तर उकास्न परियोजनामा आधारीत कार्यक्रमहरु कार्यान्वयनमा ल्याउने, रैथाने बालीको पहिचान गरी यसको संरक्षण, सम्वर्दन, प्रर्वद्धन र विस्तार गर्ने, दाना उद्योगको सहकार्य करारमा मकै खेती कार्यक्रम सञ्चालन गर्ने, च्याउ खेतीलाइ प्रोत्साहन गर्दै गोब्रे च्याउ उत्पादनको लागि आवश्यक पर्ने कम्पोष्ट मल उत्पादन र प्रयोगमा सहयोग गर्ने, ‘खनौं आफ्नो माटो, त्यागौं विदेशको बाटो’ अभियान अन्तर्गत वैदेशिक रोजगारबाट फर्केका वा स्वदेशमा नै कृषि पेशा गर्न इच्छुक युवा व्यक्तिका लागि करारमा जमिन र आवश्यक पुर्वाधारको व्यवस्था गरी कृषि व्यवसायमा आकर्षित गर्ने, उत्पादक र उपभोक्ता बीच सिधा भेट हुने व्यवस्था कायम गर्न हाटबजार तथा किसान कृषि वजार स्थापना गर्ने, प्रदेशभित्र कृषि औजार कारखाना स्थापना चालु आर्थिक वर्षवाटै शुरुवात गर्ने, कृषि औद्योगिक ग्रामको शुरुवात गर्ने, ‘माटो बचाऔं, उत्पादन बढाऔं’ अभियान मार्फत माटो स्वच्छता कायम गरी उत्पादन बढाउन घुम्ती शिविर मार्फत माटो परीक्षण कार्यलाई तिव्रता दिई माटो गुणस्तर सुधार कार्यक्रम संचालन गर्ने, खुला रुपमा पशुपन्छी बध गर्ने, मासुको विक्री वितरण र ओसार पोसार कार्यलाई क्रमश वन्देज गर्दै लैजाने, पालिकाहरुमा दूधजोन घोषण गरी दूधको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने, बाख्रा प्रजनन केन्द्रको स्थापना तथा विकास गर्ने, ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ कार्यक्रमलाई थप विस्तार गरी आगामी ५ वर्षमा सबै वडामा सञ्चालनमा ल्याउने, पशुहरुमा देखा पर्ने रोगहरुलाई नियन्त्रणको लागि रोगमुक्त पशु अभियान कार्यक्रम सञ्चालन गर्ने, योजना तथा कार्यक्रमहरुको प्रभावकारीता अध्ययनको लागि अनुगमन संयन्त्र गठन गर्ने, जग्गा दर्ता, रजिष्ट्रेशन, जग्गाधनी प्रमाणपूर्जा, दाखिला खारेज, स्वामित्व हस्तान्तरण सम्वन्धी नीति तथा मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्ने, मन्त्रालयमा तत्काल टोल फ्रि नम्बर सहितको डेस्क स्थापना गर्ने, प्रत्येक महिना कृषि मन्त्री किसान संवाद कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रतिवद्धताहरु मन्त्री पोखरेलको रहेको छ ।







