हेटौंडा, हेटौंडामा रहको तीन वटा विद्यालय मंगलबार एकैसाथ बालमैत्री विद्यालय घोषणा भएका छन् । हेटौंडा–२ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय, हेटौंडा–८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालय र हेटौंडा–१६ मा रहेको जनप्रिय माध्यमिक विद्यालय बालमैत्री विद्यालय घोषणा भएका छन् ।

हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले स्थानीय शासन युक्त विद्यालय घोषणा पत्र वाचन गरी हैटौंडाका तीन वटा विद्यालयलाई घोषणा पत्र हस्तान्तरण गरेकी थिइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा २०७९ सालको एसईई परीक्षा उत्कृष्ट विद्यार्थी र विषयगत शिक्षकलाई नगद सहित सम्मानित गरिएको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए ।

विद्यार्थीलाई ३ दशमलव ४६ जीपिए ल्याउन योगदान पु¥याएको भन्दै अङ्गेजी विषयका अमुल श्रेष्ठ, नेपाली विषयका निर्मल घिमिरे, गणित विषयका लालकाजी परियार, विज्ञान विषयका प्रेम हमाल र देवराज ढुंगेल, वातावरण तथा जनसंख्या शिक्षा विषयका उमेश अर्याल, ऐच्छिक प्रथम(गणित) विषयका खुसी न्यौपाने, कम्प्युटर विज्ञानमा राज सुवेदी, लेखा विषयका अशोक मैनालीलाई ८÷८ हजार रुपैयाँसहित सम्मानित गरिएको हो । यस्तै २०७९ एसईईमा सुविज्ञा सुवेदी, रिजन कठायतलाई ३ दशमलव ९ जीपीए ल्याएको भन्दै १०÷१० हजार रुपैयाँसहित सम्मान पत्रले सम्मानित गरिएको छ । हेटौंडा २ मा रहेको बालजागृति विद्यालयले बाजा गाजासहितको ¥यालीले नगर परिक्रमा गरेको थियो ।
कार्यक्रममा बालजागृतिका स्काउट विद्यार्थीले मार्चपास गर्नुका साथै विद्यार्थीले गायन, नृत्य तथा बालमैत्री विषयमा नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयले पन्चेबाजा सहितको ¥यालीले नगर परिक्रमा गरेको थियो भने विद्यालयको प्राङ्गणमा शैक्षिक प्रदर्शनी र स्वास्थ्य शिविर कार्यक्रम भएको थियो । यस्तै हेटौँडा–१६ मा रहेको जनप्रिय माध्यमिक विद्यालय बालमैत्री विद्यालय घोषणा भएको छ । विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गर्दै मेयर लामाले भनिन् –‘बालबालिकाको चौतर्फी विकास नभए सम्म समाज र देशको विकास हुन सक्दैन ।’

हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने क्रममा रहेको बताउँदै हेटौंडाका अन्य विद्यालय पनि घोषणा हुन आग्रह गरेकी थिइन् । बाल समूहकी अध्यक्ष सृष्टि अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले जनप्रिय बाल समुहले सञ्चालन गरेका शैक्षिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला र राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख कृष्ण घिमिरे लगायतको आतिथ्य रहेको थियो । मंगलबार नै हेटौंडा–८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालय बालमैत्री विद्यालय घोषणा भएको छ । हेटौंडा उपमहानगरपालिका मेयर लामाले घोषणा पत्र वाचन गरी विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरेकी छिन् ।
चन्द्रोय माध्यमिक विद्यालयका प्रधानाध्यापक जिधराज ढकालले बालसमूहले सञ्चालन गरेको गतिविधि र विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांगीतिक नृत्य प्रस्तुत गरेका थिए । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मंगलबार हेटौंडाका तीन वटा विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरेको हो ।






