प्रथम सहिद स्मृति भलिबल प्रतियोगिता: मकवानपुर रामेछापसँग स्तब्ध

हेटौंडा, शहिद स्मृति प्रतिष्ठान नेपाल वाइसिएल नेपाल बागमती प्रदेशको आयोजनामा शनिबारबाट शुरू भएको प्रथम सहिद स्मृति बागमती प्रदेश रनिङशिल्ड भलिबल प्रतियोगितामा मकवानपुर पराजित भएको छ । लिग कम–नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा रामेछापसँग पराजित भएसँगै मकवानपुर प्रतियोगिताबाट बाहिरिएको हो ।

ADVERTISEMENT

शनिबारबाट शुरू भएको प्रतियोगिताको पहिलो सेट रामेछापले २५–१७ ले विजयी भयो । पहिलो सेटमा हार बेहोरेको मकवानपुरले दोस्रो सेट उत्कृष्ट प्रदर्शनी गर्दै पहिलो हारको बदला लिँदै २५–१७ ले विजयी भयो । तेस्रो र अन्तिम सेटमा उत्कृष्ट प्रदर्शनी गर्दै रामेछापले मकवानपुरलाई २५–२१ र २५–२२ को सेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूवात गरेको हो ।
सहिद सप्ताहको अवसरमा आयोजित प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ । वाइसिएल बागमती प्रदेशका अध्यक्ष साजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको प्रमुख आतिथ्यता रहेको थियो ।

फागुन २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तेस्रो हुने टिमले क्रमशः नगद १ लाख ११ हजार १११, ५५ हजार ५५५ र ३३ हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *