मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

हेटौंडा, यही माघ २८ गतेबाट सञ्चालन हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । हेटौंडाको पिप्ले रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विहीबार हेटौंडामा पत्रकार सम्मेनलको आयोजना गरी आयोजक मकवानपुर जिल्ला फुटबल संघले जानकारी दिएको हो ।

ADVERTISEMENT

यस पटकको गोल्डकपमा एउटा विदेशी, ७ वटा ए डिभिजनसहित १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उद्घाटन खेल आयोजक मकवानपुर ११ र नव जनजागृति क्लव सिमराको बीचमा हुनेछ । मकवानपुर र सिमरासहित त्रिभुवन आर्मी फुटबल क्लव, नेपाल एपिएफ क्लव, सातदोबाटो क्लव, मनाङ मस्र्याङ्दी क्लव, फ्रेण्ड्स क्लव, हिमालयन् शेर्पा क्लव, एनआरटी क्लव, बागमती युवा क्लव सर्लाही, बीरगञ्ज युनाइटेड र एभिनियर एफसी क्यामरुनको सहभगिता रहेको छ ।

‘प्रतियोगिताको तयारी करिब पूरा भएको छ । ७ वटा ए डिभिजन, एउटा विदेशीसहित १२ वटा टिमको सहभागिता रहेको छ’, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले भने, ‘हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयरले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।’ प्रतियोगिताको समापनमा भने नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने उनले बताए । यस गोल्डकपलाई मकवानपुरका १० वटै स्थानीय तह सहित विभिन्न संघसंस्थाले आर्थिक सहयोग गर्दै आएको छ ।

अघिल्लो दुई संस्करणमा झैं यस बर्ष पनि मकवानपुर गोल्डकप फुटबलको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने भएका छन् । हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले सर्वोत्कृष्ट खेलाडीलाई बुलेट प्रायोजन गर्ने भएको हो ।

पत्रकार सम्मेलनमा फुटबल संघका सल्लाहकार एवम् हेटौंडा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, एन्फा बागमती प्रदेश अध्यक्ष राजेन्द्र श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्की, नगर खेलकुद विकास समिति हेटौंडा अध्यक्ष चन्द्र शाही लगायतको आतिथ्यता थियो । मकवानपुर गोल्डकपको चौथो संस्करण त्रिभुवन आर्मी फुटबल क्लवले जितेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *