चित्लाङको विसिङ्खेलमा अम्बे जात्रा मनाइयो

हेटौंडा, थाहा नगरपालिका वडा नम्बर १० चित्लाङ बिसिङ्खेलमा चम्पाकेश्वर महादेवको जात्रा मनाइएको छ । हरेक वर्ष कात्तिक १ गते हुने उक्त जात्रालाई स्थानीयहरु ‘अम्बे’ जात्रा भनेर पनि चिन्दछन् ।

चित्लाङका चार गाँउका ऐतिहासिक गोपाली जातीले दशैंभन्दा प्राथमिकता दिएर मनाउने प्रचलन रहेको चम्पाकेश्वर महादेवको जात्रा यसपालि पनि मनाएको हो । चित्लाङको न्हुँलगाँउ, टौखेल, कलाँटु र अम्बुटोलका बासिन्दाले विधिपूर्वक अम्बे जात्रा मनाएका छन् । धार्मीक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासंग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदि कालमै भएको दाबी छ । गोपाली जातीको बाहुल्यता रहेको यो क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको ब्यवस्था गरिएको छ ।

यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने बताइन्छ । यस मन्दिरमा पुख्यौँली घर पाटन रहेका राजोपाध्याय खलकका पुजारी छन् । प्रत्येक वर्ष जात्रामा विशेष पुजाका लागि महादेवलाई जाँड र एकैपटक कुटीएको चिउरा चढाउनु पर्छ । जस लाई स्थानिय वासिन्दा ‘कक बजि’ भन्दछन् ।

बेलुकी काठको लठी ठोकाठोक गरेर टाउकोमा पगरी र पगरीभरि फुल सिउरेर स्थानीय गोपालीहरुले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ । उक्त नाचलाई स्थानिय भाषामा ‘ट्वाक प्याखँ’ भनिन्छ । स्थानिय गोपालवंशी ग्वालाहरुको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठीयारहरुले चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजि’ प्रसादको रुपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास रहेको छ ।

किम्बदन्ती अनुसार हालको थानकोटलाई प्राचिन कालमा शोणितपुर भनिन्थ्यो । त्यहा राजा बाणासुरले राज्य गर्दथे । एक दिन शिकार खेल्न राजपरिवार र सेनाहरु चन्दागिरी जंगल हँुदै बिसिङ्गखेलको वनमा आइपुगेको स्थानिय बासिन्दा बताउँछन् । उक्त वनको एउटा रुखमा फुलिरहेको चापको फुल राजकुमारीले देखेपछि उनी लोभिएको र उक्त फुल टिपेर ल्याउन अनुरोध गरिएको स्थानिय बुढापाकाहरु बताउँछन् ।

कथाअनुसार फुलको रुखको फेदबाट हेर्दा फुल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साह्रै रिस उठेछ । त्यसपछि कलाँटु गाँउका काठका काम गर्ने ब्यक्तिहरुलाई बोलाएर उक्त रुख काट्न आदेश दिएछन् । रुख काट्दा रगत आएको र एउटा ज्योतिर्लिङ्ग पैदा भएपछि कलाँटुका गमालहरुले उक्त लिङ्ग आफ्नो गाँउमा लगेर राखेछन् । तर त्यो रात गाँउमा कुखुराको भाले नबासेपछि केहि अनिष्ट भयो भन्ठानेर गाँउलेमा चिन्ता बढेछ ।

क्षमापुजा गरेपछि आकाशवाणी भएर ‘सोझा जाती गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्न’ भनेपछि अझैपनि जात्राको दिन टौखेलबाट शिवलिङ्ग ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको स्थानीयहरू बताउँन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button