७० दशमलव ७५ प्रतिशत उजुरी फछ्र्यौट

हेटौंडा, १४ भदौ/गत आर्थिक वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा दर्ता भएका उजुरीमध्ये ७० दशमलव ७५ प्रतिशत फछ्र्यौट भएका छन् । आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएको ४११ वटा र आर्थिक वर्ष २०७८/०७९ मा १ हजार १ सय ८९ गरी १६ सय उजुरी परेकोमा १ हजार १ सय ३२ उजुरी फछ्र्यौट भएको कार्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको थियो ।

ADVERTISEMENT

‘आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म दर्ता तथा फछर्यौट भएको जिल्लागत विवरण अनुसार बारा पहिलो नम्वरमा पर्छ भने मकवानपुर तेस्रो स्थानमा रहेको छ । भूगोलको हिसावले पनि बारा, पर्सा, रौतहटमा उल्लेख्य उजुरी पर्छन ।’ कार्यालयका सूचना अधिकारी विष्णुप्रभा सापकोटाले भने –‘११ वटा जिल्लाको कार्यक्षेत्र आयोगले हेर्ने गर्दछ । जसअनुसार मकवानपुर जिल्लामा ३१० उजुरी परेका छन् जसमा २८६ वटा फछ्र्यौटभएका छन् ।’

गत आर्थिक वर्षमा सार्वजनिक खरिद र निर्माणसँग सम्बन्धीत उजुरी, उपभोक्ता समितिसँग सम्बन्धित उजुरी, प्रशासनिक कार्यसम्बन्धी, तालिम र क्षमता विकास सम्बन्ध, नदीजन्य पदार्थ उत्खनन तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धमा, सेवा प्रवाह सम्बन्धमा, सार्वजनिक जग्गाको संरक्षण सम्बन्धी, शिक्षा क्षेत्र सम्बन्धी, सामाजिक सुरक्षा भत्तासम्बन्धी, राजश्व चुहावट र अपचलन सम्बन्धी उजुरी र अन्य क्षेत्रका उजुरी रहेका छन् ।
१ सय ६१ उजुरी
चालु आर्थिक वर्षको भदौ महिनाको १४ गतेसम्म १ सय ६१ वटा उजुरी कार्यालयमा दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउन महिनामा १ सय २८ वटा उजुरी र भदौ महिनाको १४ गतेसम्ममा ३३ वटा उजुरी गरी १ सय ६१ उजुरी कार्यालयमा दर्ता भएका छन् । उजुरीको विवरण सबैभन्दा बढी इमेल, टेलिफोन, लिखित निवेदन र भाइबर रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा धेरै उजुरी
मकवानपुर जिल्लामा रहेका दश वटा स्थानीय तह मध्ये सबै भन्दा धेरै उजुरी हेटौंडा उपमहानगरपालिकाको रहेको छ ।
गत आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकामा एक सय २४ वटा उजुरी परेका छन् जसमा अघिल्लो आर्थिक वर्षमा ४५ वटा मात्र उजुरी परेका थिए ।

यसैगरी थाहा नगरपालिकामा दुइ वर्षको अवधिमा ८ वटा उजुरी, इन्द्रसरोवर गाउँपालिकामा ४ वटा, कैलाश गाउँपालिकामा १२ वटा, बकैयाको २१ वटा, बागमती गाउँपालिकाको ६ वटा, भीमफेदी गाउँपालिकाको १२ वटा, मकवानपुरगढी गाउँपालिकाको २० वटा, मनहरी गाउँपालिकाको ४२ वटा, राक्सिराङ गाउँपालिकाको १६ वटा उजुरी दुइ वर्षमा परेको सापकोटाले बताए ।
परेका उजुरीहरुको छानविन गर्ने र फछ्यौट गर्ने काम भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमिरेले बताए ।

Advertisement 5

‘संघीय संरचना अनुरुप स्थानीय तहमा बढी काम हुने भएकोले गर्दा गत वर्षको तुलनामा उजुरी बढेको हो।’ उनले भने –‘भ्रष्टाचार न्यूनीकरण गर्नका निम्ति एकल प्रयासले मात्र सम्भव नहुने भएकोले गर्दा हरेक व्यक्ति पुलिस हुनुपर्ने बेला आएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *