‘निर्माण व्यवसायीप्रति कठोर हुने अवस्था नआओस्’

हेटौंडा, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले कठोर कदम चाल्नुपर्ने अवस्था सृजना नगर्न निर्माण व्यवसायीहरु लाई चेतावनी दिएका छन् । ठेकेदारले काम गर्दैनन् भन्ने अवस्थाको अन्त्य हुनुपर्ने औंल्याउँदै उनले तोकिएको समयमा गुणस्तरीय काम नभए कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन् ।

निर्माण व्यवसायी संघ मकवानपुरको २३ औं बार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको प्रमुख अतिथि रहेका मन्त्री श्रेष्ठले निर्माण व्यवसायीले राम्रो काम गरे चाँडै मुलुकको विकास र समृद्धि हुने दावी गरे । ‘हामीले हेटौंडालाई प्रदेश राजधानी त बनायौं तर प्रदेश राजधानी आउने बाटोहरुको दुरावस्था छ’, उनले भने, ‘सबैतिरको काम अलपत्र छोडिएको छ, यो अवस्थाले कसरी प्रदेश राजधानीको विकास हुन्छ ?’ उनले निर्माण व्यवसायीहरुलाई जनता र राज्यप्रती उत्तरदायी हुन अनुरोध गरे ।

ठेक्का पारेर मोबिलाइजेसन लिसकेपछि काम सम्पन्न गर्नु आफ्नो दायित्व हो भन्ने बुझ्न जरुरी रहेको उनको भनाई थियो । काम नगर्ने ठेकेदारलाई राज्यको रकम हिनामिना गरेको नाममा कार्बाही गर्नुपर्ने अवस्था पनि आउन सक्ने उनले चेतावनी दिए ।
यस्तै निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष आङदोर्जे लामाले अन्धधुन्ध ठेक्का हालेर काम अलपत्र पार्ने काम बन्द गर्न व्यवसायीलाई अनुरोध गरे । मजदुर र कर्मचारी खुसी पारेर काम गर्न सकिन्छ भने मात्रै निर्माण व्यवसायीको रुपमा काम गर्न उनले निर्देशन दिए ।

निर्माण व्यवसायीलाई तालिम आवश्यक रहेको धारणा राख्दै लामाले अब व्यवसायीहरु पनि समय अनुसार चल्न सक्नुपर्ने
बताए । व्यवसायिक एकता आवश्यक रहेको उनको भनाई थियो । निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष श्यामसुन्दर ढकालको अध्यक्षतामा भएको साधारण सभामा पत्रकारद्वय सुरेश श्रेष्ठ र सुवास बिडारी तथा जनप्रतिनिधि निर्वाचित भएका निर्माण व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button