हेटौंडा, हेटौंडामा जारी पाँचौ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार भएको खेलमा आयोजक मकवानपुर–११ लाई २–१ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङको जितमा सुमित श्रेष्ठ र डिवान्डो ड्याङबोले गोल गरेका थिए । मकवानपुरको लागि १ गोल साहिदले गरे । सुमितले ११ र डिवान्डोले ३९ औं मिनेटमा गोल गरेका थिए । साहिदले ५३ औं मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच मनाङका कमल थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताअन्तर्गत शनिबार हिमालयन शेर्पा र फ्रेण्डस् क्लबबीच खेल हुनेछ ।यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट मोटरसाइकल) तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।







