हेटौंडा, १४ असार/हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको आयोजनामा हेटौंडामा भएको उपमहानगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा बालजागृती इङ्लिस बोर्डिङ स्कुल विजयी भएको छ । उपमहानगरका ५८ विद्यालयलाई उछिन्दै छनौटमा परेका १० बिद्यालयको बीचमा उपाधि भिडन्त गराइएको थियो ।

बालजागृतीका युनिक ढुङगेल, देविना सञ्जेल र प्रसिद्ध तिमल्सिनाले जनही नगद ५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आधुनिक माविका अनिष अधिकारी, विशाल पटेल र आकृति मिश्र द्वितीय हुँदा ब्रम्हदिक इङ्लिस बोर्डिङ स्कुलका दिव्यान्स शाही, आभाष घिमिरे र कृष्ण लौडारी तृतीय र वंशगोपाल माविका जेनिसा कार्की, किरण खड्का र सरोज सापकोटा सान्त्वना भए ।
उनीहरुले क्रमश ः जनही नगद ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपमहानगरका ५८ वटा विद्यालयलाई ५ भागमा विभाजन गरी असार ६ गते गरिएको उपमहानगरस्तरीय छनौटमा विजेता र उपविजेता भएका १० बिद्यालयलाई अन्तिम चरणमा सहभागी गराइएको शिक्षा विकास महाशाखा प्रमुख रामचन्द्र खड्काले जानकारी दिए ।







