हेटौंडा, बागमती प्रदेश सरकारले जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारहरुलाई जनही एक/एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मंगलबार बिहान बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।
पछिल्लो दुई सातामा प्रदेशमा जंगली हात्तीको कारण तीन जनाको मृत्यु भएको छ । एमगज नामक जंगली हात्ती आक्रमणको कारण गत फागुन ८ गते मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारी र फागुन १२ गते बकैया–५ पावसका ५० वर्षका सन्तलाल माझीको मृत्यु भएको थियो ।
यसैगरी, मकुन्ना नामक जंगली हात्ती आक्रमणको कारण फागुन १३ मा सिन्धुलीको कमलामाई नगरपालिका–१३ का ४० वर्षीय दण्डपाणी पौडेलको मृत्यु भएको थियो ।