हेटौँडा, काठमाडौंमा सम्पन्न नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा मकवानपुरबाट ५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा भारती पाठक, नविन सिग्देल, महेश बर्तौला, एकालाल श्रेष्ठ र रामेश्वर राना रहेका छन्। निर्वाचित पाँचै जना केपी शर्मा ओली प्यानलका उम्मेदवार हुन्। मकवानपुरबाट केन्द्रीय सदस्य पदका लागि ७ जनाको उम्मेदवारी परेकोमा कृष्ण दाहाल र देवकृष्ण विक पराजित भएका छन्। दुवै उम्मेदवार ईश्वर पोखरेल प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका थिए।
बागमती प्रदेशसभा सदस्य भारती पाठक १ हजार ९१५ मत प्राप्त गर्दै महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। यस्तै, पूर्व सांसद तथा एमालेका मुख्य सचेतक महेश बर्तौला १ हजार ५२९ मतसहित खुला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो। त्यसैगरी, नेकपा (एमाले) मकवानपुरका इन्चार्ज रामेश्वर राना १ हजार ४९८ मत प्राप्त गरी बागमती प्रदेश भूगोलतर्फको खुला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।
बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ १ हजार ५०९ मतसहित आदिवासी जनजाति खुला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नविन सिग्देल १ हजार ६१४ मत प्राप्त गर्दै केन्द्रीय लेखा आयोग सदस्यमा निर्वाचित हुनुभएको छ।यसअघि चितवनमा भएको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध चुनिएका रामेश्वर राना, भारती पाठक केन्द्रीय सदस्य रहेका थिए ।






