मोहन श्रेष्ठ स्मृति भेट्रान्समा ७ नम्बरको विजय सुरुवात

हेटौंडा, पशुपति युवा क्लब हेटौंडा ९ को आयोजनामा शनिबारबाट सुरु भएको मोहन श्रेष्ठ स्मृति एट ए साइड भेट्रान्स रनिङ कप नकाउट फुटबल प्रतियोगितामा हेटौंडाको वडा नम्बर ७ ले विजयी यात्रा सुरु गरेको छ । हेटौंडा ८ स्थित औधोगिक क्षेत्रको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटनमा वडा नम्बर १८ लाई टाईब्रेकरमा हराउँदै ७ नम्बर वडाले विजयी सुरुवात गरेको हो । निर्धारित ४० समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईबे्रकरबाट लिइएको थियो ।

ADVERTISEMENT

७ नम्बर वडाका लागी भरत तितुङ, विनोद घिमिरे र अमर गुरुङले गोल गरेका थिए भने रणसंग्राम दुलालको प्रहार बाहिरिएको थियो । खेलको म्यान अफ दि म्याच १८ नम्बर वडाका रणसंग्राम दुलाल भए । प्रतियोगिता अन्तर्गत आइतबार चारवटा खेल हुने प्रतियोगिताका संयोजक सचिन जोशीले जानकारी दिए । प्रतियोगितामा हेटौंडा उपमहानगरको १३ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख ५ हजार ५५५ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद ५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

क्लवका पूर्व कोषाध्यक्ष समेत रहेका मोहन श्रेष्ठको नाममा नियमित प्रतियोगिता गराउने उनले बताए । शनिवारबाट सुरु भएको भएको प्रतियोगिता उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले गरेकी हुन् । लामाले खेलसहित उपमहानगरको सर्वाङ्गीण विकासका लागि लागिपरेको जानकारी दिइन् । विभिन्न संघसंस्थाले आयोजना गर्ने यस्ता प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुगेको उनको भनाई थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु सहित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *