हेटौंडा, हेटौडामा हुन लागेको सूचना प्रविधि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । चैत २ गतेदेखि हेटौंडामा हुने सूचना प्रविधि मेलाको तयारी अन्तिम चरणमा रहेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कम्प्युटर एसोसियशन नेपाल महासंघ मकवानपुर (क्यान मकवानपुर)ले जानकारी दिएको हो ।
कम्प्युटर एसोशियसन नेपाल (क्यान) मकवानपुरको आयोजनामा हेटौंडामा हुने सूचना प्रविधि मेलाको उद्घाटनमा रोवटको प्रयोग गरिने अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए । चैत्र २ गतेदेखि ६ गतेसम्म हुने आइकन सफ्ट क्यान इन्फो–टेक (सूचना प्रविधि) इन एसोसिएसन विथ एम बैंक मेला आयोजना हुने क्यान बागमती प्रदेशका अध्यक्ष एवम् मेलाका संयोजक पुष्पराज पुडासैनीले बताए ।
उनले मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, विविध सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिकेसन डिजाइन, वीमा लगायतका प्रर्दशनी र विक्री कक्ष रहने बताए । उनका अनुसार मेलामा सूचना प्रविधि सम्बन्धी ४० वटा स्टल रहने छ । मेलामा कृषिमा प्रविधिको प्रयोग, नेटवर्कीङ र सिसि टिभी सम्बन्धि तालिम, शिक्षक, विद्यार्थी तथा युवा लक्षित साइबर सुरक्षा जस्ता ३ वटा आइसिटी सेमिनार समेत सञ्चालन गरिने संयोजक पुडासैनीले बताए । साथै मेलाको आकर्षणको रुपमा राष्ट्रिय रोवट प्रदर्शनी र राष्ट्रिय पबजी प्रतिस्पर्धाको समेत हुने ।
रोबोर्ट प्रदर्शनीमा १० वटा टिम र अनलाइन पब्जी खेलमा ३२ वटा टिमले सहभागिता जनाएको उनले बताए । ४० देखि ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा रहेको मेलामा प्रवेशका लागी सर्वसाधरणलाई २५ रुपैयाँ र विद्यार्थीको लागी १० रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आइकन सफ्ट प्रालि मुख्य प्रायोजक तथा एम बैंक सहप्रायोजक रहेको सूचना प्रविधिमा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ । सूचना प्रविधि मेलामा करिव ३० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।







