हेटौंडा, मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा एन्फा यू १६ विद्यालय स्तरीय नकआउट फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु भएको छ ।
शुक्रबार हेटौंडा स्कूल अफ म्यानेजमेण्टका संयोजक पुरणबहादुर जोशीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । जिल्ला फुटबल संघका कार्यबाहक अध्यक्ष युवराज लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाका कार्यबाहक अध्यक्ष विजय पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा मकवानपुरका २० सामुदायिक र ९ संस्थागत गरी २९ वटा विद्यालयको सहभागिता रहेको छ । पहिलो दिनको खेलमा निर्मल मावि बस्तीपुर र देवकी मावि बागमती गाउँपालिका विजयी भएको छ । पहिलो खेलमा निर्मलले ज्योति मावि हर्नामाडीलाई ३–० गोलले हराएको हो । निर्मलको तर्फबाट उर्गेन रुम्बाले दुई गोल गरेका थिए भने एकगोल उपहार पाएको थियो । उर्गेन नै खेलको म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा देवकी माविले सनसाइन बोर्डिङ स्कुल बसामाडीलाई ५–० ले हरायो । देवकीका लागि सुवास थिङ र उप्रान्त आलेले समान दुई/दुई तथा लक्ष्मण थिङले एक गोल गरे । देवकीका उप्रान्त नै खेलको म्यान अफ द म्याच भए । २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शनिबार ४ वटा खेल हुने फुटबल संघका महासचिव छवि सुवेदीले जानकारी दिए ।






