हेटौंडा, जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको दोस्रो अन्तरपालिका पुरुष फुटबलमा भीमफेदी गाउँपालिकाले विजय यात्रा सुरु गरेको छ ।
शनिबारबाट सुरु भएको प्रतियोगितामा कैलाश गाउँपालिकालाई टाइब्रेकरमा हराउँदै भीमफेदीले विजय यात्रा सुरु गरेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा भीमफेदीको तर्फबाट रामराज शाही, श्रीजन दानी, समन डंगोल र अर्पण घलनाले गोल गरेका थिए ।
कैलाशको तर्फबाट अजय गुरुङ र सूर्य थिङले गोल गर्दा सजन जिम्बा र विकल मोक्तानको प्रहार गोल हुन सकेन । निर्धारित समयमा भीमफेदीको तर्फबाट सविन घले र श्रीजन दानीले गोल गरेका थिए । कैलाशबाट सुमनसिं स्याङ्तान र विकल मोक्तानले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच भीमफेदीका श्रीजन दानी भए । मकवानपुर जिल्लाको दशवटा स्थानीय तह सहभागी प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरेकी हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलसहित सबै क्षेत्रको विकासका लागि प्रदेश सरकार तयार रहेको बताइन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा सर्वाधिक गोलकर्ता र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा करिब साढे ९ लाख रुपैयाँ खर्च अनुमान छ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि हेटौंडा उपमहानगरपालिकालाई हराउँदै थाहा नगरपालिकाले जितेको थियो ।