हेटौंडा, यही चैत्र ४ गतेबाट हेटौंडामा सञ्चालन हुन लागेको दोस्रो अन्तर पालिकास्तरीय फुटबलको तयारी पूरा भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
जिल्लामा रहेका पालिकाबीच सुमधुर सम्बन्ध स्थापनासँगै फुटबल खेलको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले जानकारी दिए । ११ गतेसम्म हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ । उद्घाटन खेल कैलाश र भीमफेदीको बीचमा हुनेछ भने चैत ५ गते हेटौंडा र बकैया तथा राक्सिराङ र थाहा नगर, चैत ६ मकवानपुरगढी र इन्द्रसरोवर भिड्नेछन् । यसैगरी चैत ४ गतेको विजेतासँग मनहरीले र चैत ५ गते हुने राक्सिराङ र थाहावीचको बिजेतासँग बागमती गाउँपालिकाले खेल्ने छ ।
मनहरी र बागमतीले खेलतालिका अनुसार ‘बाइ’ पाएका छन् । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा सर्वाधिक गोलकर्ता र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा करिब साढे ९ लाख रुपैयाँ खर्च अनुमान छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्ने कार्यक्रम रहेको छ । पहिलो संस्करणको उपाधि हेटौंडा उपमहानगरपालिकालाई हराउँदै थाहा नगरपालिकाले जितेको थियो । पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, पूर्व प्रमुख राजन दाहाल खुसराज लगायत सहभागी थिए ।






