हेटौँडा, बागमती प्रदेश सरकारले प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि तथा सुरक्षित रगत भण्डारण क्षमतामा वृद्धि गर्ने उद्देश्यले ११ जिल्लामा ब्लड बैंक रेफ्रिजेरेटर उपलब्ध गराएको छ। प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्र, हेटौँडाले रक्तसञ्चार सेवा सञ्चालन भइरहेका सिन्धुपाल्चोक र रसुवा बाहेकका ११ जिल्लाका नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखालाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेको हो।
बिहीबार स्वास्थ्य आपूर्ति केन्द्रमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र स्वास्थ्यमन्त्री किरण थापाले संयुक्त रूपमा ११ वटा रेडक्रस जिल्ला शाखालाई रेफ्रिजेरेटर हस्तान्तरण गरे। रेफ्रिजेरेटर खरिदका लागि बोलपत्र आह्वान गरी प्रति युनिट २ लाख ७५ हजार ५५५ रुपैयाँका दरले कुल ३१ लाख रुपैयाँमा खरिद सम्झौता गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले रेडक्रसलाई उपलब्ध गराइएको रेफ्रिजेरेटर मानव सेवाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। द्वन्द्वकालदेखि प्राकृतिक विपद्सम्म रेडक्रसले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उनले रक्तसञ्चार सेवाको प्रभावकारिता अझ बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्री बानियाँले ब्लड म्याचिङ प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्षको बजेटमार्फत आवश्यक व्यवस्था गरिने जानकारी दिए। रगत भण्डारण अत्यन्त संवेदनशील विषय भएकाले प्राविधिक दक्षता, सतर्कता र निरन्तर निगरानी आवश्यक रहेको उनको भनाइ थियो।
आपूर्ति अवरुद्ध भएको अवस्थामा समयमै वैकल्पिक व्यवस्था नहुँदा ठूलो परिमाणमा रगत नष्ट हुन सक्ने र त्यसले बिरामीको जीवन नै जोखिममा पार्न सक्ने उनले बताए। कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले रक्तसञ्चार सेवाको दिगोपना तथा सुरक्षित रगत भण्डारण सुनिश्चित गर्न प्रदेश सरकारले रेफ्रिजेरेटर सहयोग उपलब्ध गराएको बताए। रेडक्रसद्वारा सञ्चालित ब्लड बैंकहरूले प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाएको उनले उल्लेख गरे। मन्त्री थापाका अनुसार ब्लड बैंकले लिने सेवा शुल्क प्रदेश सरकारले व्यहोर्दै आएकाले नागरिकले निःशुल्क रूपमा रगत प्राप्त गर्ने वातावरण बनेको छ। आगामी दिनमा रेडक्रससँग थप सहकार्य गर्दै स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणमा मन्त्रालयले साझेदारी गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
आर्थिक वर्ष २०८२/०८३ मा निःशुल्क रक्तसञ्चार सेवा कार्यक्रमअन्तर्गत रेफ्रिजेरेटर खरिदका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। हस्तान्तरण गरिएका २२० लिटर क्षमताका रेफ्रिजेरेटरमा करिब १५० वटा ब्लड ब्याग सुरक्षित रूपमा भण्डारण गर्न सकिने जनाइएको छ। उपकरणमा थर्मल इन्सुलेसन, अटोमेटिक डिफ्रोस्ट तथा डाटा लगरजस्ता आधुनिक प्रविधि जडान गरिएको छ।







