हेटौंडा, बालबालिकालाई श्रममा नलगाउने हेटौंडाका होटल व्यवसायी र निर्माण व्यवसायीहरुले प्रतिबद्धता जनाएका छन् । स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने पूर्व तयारी स्वरूप हेटौंडामा श्रममा रहेका बालबालिकाको सहभागीता सम्बन्धि वकालत बैठकमा व्यवसायीहरुले प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राष्ट्रिय बाल संरक्षण सन्जाल, आस्मान नेपाल र बालकल्याण समाज मकवानपुरको सयुक्त आयोजनामा शुक्रबार हेटौंडामा भएको बहस कार्यक्रममा श्रम कार्यालय हेटौंडाका भिमप्रसाद शर्माले बालबालिकालाई श्रममा लगाएको पाइएमा कानुन बमोजिम कारवाही हुने बताए । बालबालिका सम्बन्धी ऐन, नियमावली तथा नेपालको दीगो विकास योजना अनुसार कार्य अगाडि बढाउन सबैक्षेत्रसँग सबैले हातेमालो गर्नुपर्ने बताइएको छ ।बालमैत्री घोषणा भएका स्थानीय तहमा झन् धेरै काम गर्न बाँकी रहेको बालकल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले बताए ।
सरोकारवाल समूहहरुमा श्रमिक बालबालिकालाई सहभागी गराउने, उनीहरूको आवश्यकता, चाहना र भावनाको सम्बोधन हुनुपर्ने उनले बताए ।कार्यक्रममा नगर स्तरीय बाल सञ्जालका अध्यक्ष सौरभ देवकोटाले बालबालिकाहरु लुकेर बालश्रममा लाग्ने गरेको बताए । क्लबले सचेतना कार्यक्रम गर्दा गर्दै पनि अभिभावकहरुसँगै श्रममा लाग्ने गरेको अध्यक्ष देवकोटाले बताए । कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, शिक्षक, होटल सन्चालकहरू, जिल्ला समन्वय समिति, ट्रेड युनियनका प्रतिनिधि, बाल क्लबका पदाधिकारीहरूहरूको उपस्थिति रहेको थियो ।







